काठमाडौं। नेपाल पर्यटन बोर्डको आयोजनामा एकल चित्रकला प्रदर्शनी ‘कुन्डलिनी– २’ तथा ‘कुन्डलिनी योग’ पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ।
भृकुटीमण्डपस्थित बोर्डको कार्यालयमा मंगलबार आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे थिए।
चित्रकार भीमप्रसाद शर्माको १३औं एकल चित्रकला प्रदर्शनीका रूपमा आयोजित कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले गरेका थिए।
-1747801390.jpeg)
मन्त्री पाण्डेले यस्ता सिर्जनात्मक कार्यक्रमहरूले नेपालको कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। कार्यकारी प्रमुख जोशीले बोर्डले आगामी दिनमा कलाकार र फोटोग्राफरहरूसँग सहकार्य गर्दै पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने प्रतिवद्धता व्यक्त गरे।
‘कुन्डलिनी–२’ प्रदर्शनी जेठ १० गतेसम्म सर्वसाधारणका लागि निःशुल्क रूपमा खुला रहने बोर्डले जनाएको छ।
त्यसैगरी पर्यटन बोर्डले सञ्चालन गर्दै आएको ‘फोटोनेपाल’ पोर्टलमार्फत मासिक फोटो प्रतियोगिता पनि जारी छ। प्रतियोगितामा प्रत्येक महिनाका उत्कृष्ट तीन फोटो चयन गरी जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ। प्रतियोगितामा नेपालको हिमाल, सांस्कृतिक सम्पदा वा लुकेका पर्यटकीयस्थलहरू झल्किने दृश्यहरू पठाउन बोर्डले सबैमा आग्रह गरेको छ।
नेपाल पर्यटन बोर्डले सन् २०१६ फेब्रुअरीदेखि सुरु गरेको फाेटाेनेपाल अभियानअन्तर्गत हालसम्म देश तथा विदेशमा सयभन्दा बढी कला तथा फोटो प्रदर्शनीहरू सम्पन्न भइसकेका छन्।