काठमाडौं। सगरमाथा आरोहणको गौरव र प्रेरणालाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न एभरेस्ट नायन्स नेपालको आयोजनामा पहिलोपटक नेपालमा ‘एभरेस्ट समिटियर्स समिट- २०२५’ आयोजना हुने भएकाे छ।
यही मे २७ तारिख, अर्थात् २०८२ साल जेठ १३ गते, काठमाडौंको सोल्टी होटलमा हुने यस सम्मेलनमा नेपालसहित विश्वभरका १६ देशका १७७ भन्दा बढी सगरमाथा आरोहीहरूको सहभागिता हुने आयोजकले जनाएको छ।
सम्मेलनले सगरमाथा चढेका अनुभवी आरोहीहरूलाई एउटै मञ्चमा ल्याई उनीहरूको प्रेरणादायी यात्रा, सफलताका क्षण र सिकाइका अनुभवहरू साट्ने अवसर दिनेछ। पर्वतारोहण मात्र एक साहसिक अभियान नभई मानव क्षमताको चरम परीक्षण पनि हो भन्ने सन्देश सम्मेलनले दिनेछ।
कार्यक्रममा पर्वतारोहण क्षेत्रका विज्ञ, फिल्म निर्माता, संरक्षणविद्, हिमाली समुदायका प्रतिनिधि, पर्यटन व्यवसायी, नीति निर्माता र पर्वतीय संस्कृतिलाई प्रतिनिधित्व गर्ने समूदायहरूको सक्रिय सहभागिता रहनेछ।
सम्मेलनमा सन् १९५३ मा सर एडमण्ड हिलारीसँगै सगरमाथाको पहिलो सफल आरोहणमा सहभागी भएका जीवित व्यक्ति कान्छा शेर्पालाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिनेछ।
यसै अवसरमा वातावरण संरक्षण, जलवायु संकट, सुरक्षित पर्वतारोहण प्रविधि, महिलाको सहभागिता लगायतका विषयमा गोष्ठी र छलफलहरू आयोजना गरिने छन्।
संवेदनशील हिमाली क्षेत्रको संरक्षण, उत्तरदायी पर्यटन प्रवर्द्धन र स्थानीय समुदायको समृद्धिमा सघाउन सम्मेलनले विविध आयाम समेट्नेछ। नाम्चे, चुम्बु, म्याग्दीलगायतका हिमाली गाउँपालिकाहरू तथा नेपाल हस्तकला महासंघसँग सहकार्य गर्दै हिमाली परम्परागत जीवनशैली झल्काउने झाँकी, हस्तकला र फोटो प्रदर्शनी, सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछन्।
एभरेस्ट नायन्स नेपाल एक गैरनाफामूलक संस्था हो, जसले बालमैत्री खेलकुद, मनोरञ्जनात्मक गतिविधि र हिमाली पर्यटन प्रवर्द्धन तथा वातावरणीय सरोकारका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।