काठमाडौं। नेपाल–अमेरिका बिचको ७८ वर्ष लामो साझेदारीलाई अझ सुदृढ बनाउन नेपालस्थित अमेरिकी राजदूत डिन थम्पसनले मुस्ताङ भ्रमण गरेका छन्।
यस साता भएकाे भ्रमणको क्रममा थम्पसनले अमेरिकाले नेपालमा गरिरहेको सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी कार्यहरूको समीक्षा गरेकाे दूतावासले सामाजिक सञ्जालमार्फत् जनाएकाे छ।

संयुक्त राज्य अमेरिका सरकार अन्तर्गतको एम्बेस्डर्स फन्ड फर कल्चर प्रिजर्भेसन (एएफसीपी) मार्फत सञ्चालित परियोजनाहरूको अवलोकनका लागि राजदूत थम्पसन, सार्वजनिक मामिला प्रमुख माइक हार्करलगायत अमेरिकी दूतावास टोलीले मुस्ताङका विभिन्न सम्पदा स्थलहरूको भ्रमण गरेका हुन्।
भ्रमणका क्रममा टोलीले चुक्साङस्थित गोन्पा गाङ गुम्बा, ग्हार गुम्बास्थित लो गेकार गुम्बा, र ड्जोङ गुम्बाको निरीक्षण गरेकाे दूतावासले जनाएकाे छ। ती सम्पदाहरूमा अमेरिकी सहयोगले भइरहेका संरक्षण प्रयासहरू स्थानीय समुदायसँग सहकार्यमा अगाडि बढाइएको छ।

राजदूत थम्पसनले स्थानीय समुदाय र परियोजना टोलीसँग समेत छलफल गर्दै अमेरिकी सहयोगले नेपालमा दीगो पर्यटन, आर्थिक विकास र सांस्कृतिक पहिचान संरक्षणमा टेवा पुर्याएको बताए। ‘यी परियोजनाहरूले नेपाल–अमेरिका सम्बन्धलाई अझ गहिरो बनाउँदै स्थानीय र अमेरिकी व्यवसायहरूबीच अवसरहरू पनि सिर्जना गरेका छन्,’ उनले भने।
दूतावास टोलीले मुस्ताङमा आयोजना गरिएको जीवित सांस्कृतिक पर्व तिजी महोत्सवमा पनि सहभागिता जनाएकाे छ। तिजी पर्वले नेपालका जीवित परम्पराहरूको रंगीन प्रस्तुति गरेको भन्दै राजदूत थम्पसनले प्रशंसा व्यक्त गरे।

संस्कृति संरक्षणमार्फत पर्यटन र शिक्षा क्षेत्रमा समेत प्रभाव विस्तार हुँदै गएको अमेरिकी दूतावासको भनाइ छ।










सबै तस्बिर: अमेरिकी दूतावासकाे फेसबुकबाट।