काठमाडौं। रसुवाकी पार्वती जोशीले गत मे १९ तारिख बिहान ९ बजे बिना गाइड सगरमाथाको सफल आरोहण गरेकी छिन्।
पथप्रदर्शक तथा माउन्टेन लिडरको रूपमा कार्यरत पार्वतीले विश्वको सर्वोच्च शिखरमा पुगेर आफ्नो बहुप्रतीक्षित सपना साकार बनाएकी हुन्।
‘सगरमाथा आरोहण गर्ने सपना पूरा गर्न पाउँदा र सगरमाथा आरोही भनेर चिनिने मौका पाउँदा अत्यन्तै खुसी लाग्छ,’ सफल आरोहणपछि पार्वतीले भनिन्।
लामो समयदेखि पर्वतीय पर्यटनमा सक्रिय पार्वतीको यो यात्रा अप्रिल २० मा काठमाडौंबाट सुरु भएको थियो। एक महिनासम्मको तयारी, संघर्ष र साहसपछि उनले मे १९ मा शिखर टेक्दै आफ्नो यात्रा सफल पारिन्।
सगरमाथा आरोहणले आफूलाई थप ऊर्जा प्रदान गरेको उल्लेख गर्दै पार्वतीले आगामी दिनमा पनि यही क्षेत्रमा लागिरही आफूजस्तै अन्य महिलालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
रसुवाको एक सानो गाउँमा जन्मिएकी पार्वती बाल्यकालदेखि नै साहसी स्वभावकी थिइन्। उनले आफ्ना पुरुष साथीसँग भलिबल खेल्ने, पहाड चढ्नेजस्ता क्रियाकलापमा रुचि राख्थिन्।
सन् २०११ मा पहिलोपटक ट्रेकिङमा सहभागी भएर उनले पर्यटन क्षेत्रमा पाइला टेकेकी थिइन्। त्यसको तीन वर्षपछि, सन् २०१४ मा उनले पथप्रदर्शकको औपचारिक अनुमतिपत्र प्राप्त गरिन्। त्यहीबेला उनले सगरमाथा चढ्ने सपना देखेकी थिइन्, जुन अहिले आएर पुरा भएको छ।
पार्वतीको यो उपलब्धिले नेपाली महिलाहरूको क्षमता र दृढ संकल्पको सशक्त प्रतिनिधित्व गरेकाे छ। पर्वतारोहणजस्तो जोखिमपूर्ण क्षेत्रमा महिलाहरूको बढ्दो उपस्थिति नेपालको पर्यटन क्षेत्रमा सकारात्मक सन्देश दिएकाे छ।
उनको यो सफलताले पहाडी क्षेत्रमा हुर्किने किशोरीहरूलाई नयाँ प्रेरणा दिनसक्ने अपेक्षा गरिएको छ। पर्वतारोहणमा पुरुषमूलक संरचना तोड्दै अगाडि बढेकी पार्वतीले अब आफूजस्तै दिदीबहिनीलाई पनि हिमाल चढ्न हौसला दिने बताएकी छिन्।