काठमाडौं। नेपाल पर्यटन बोर्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई बोर्डको नयाँ अध्यक्षको रूपमा औपचारिक स्वागत गरेको छ।
मंगलबार बोर्डको कार्यालयमा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा सचिव मैनालीलाई पर्यटन बोर्डका पदाधिकारी तथा सरोकारवालाहरूले हार्दिक स्वागत गरेका हुन्।
त्यसै अवसरमा नवनियुक्त कार्यपालिका समिति सदस्यद्वय नरेन्द्रदेव भट्ट र कुमारमणि थपलियाले पद तथा गोपनीयताको शपथ लिएका छन्। निजी क्षेत्रको पर्यटन क्षेत्रमा लामो अनुभव बोकेका उनीहरू पर्यटन क्षेत्रमै सक्रिय अग्रजका रूपमा चिनिन्छन्।
कार्यकारी प्रमुख दीपकराज जोशीले नयाँ नेतृत्वको आगमनले पर्यटन क्षेत्रमा नयाँ ऊर्जा, विचार र स्पष्ट दिशा ल्याउने विश्वास व्यक्त गरे। ‘सचिव मैनाली र नयाँ सदस्यहरूले ल्याउने अनुभव र दृष्टिकोणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी बलियो बनाउनेछ,’ उनले भने, ‘हामी दिगो वृद्धि र सहकार्यमा आधारित प्रगतिमा केन्द्रित हुनेछौं।’
कार्यक्रममा बोल्दै अध्यक्ष मैनालीले पर्यटनलाई नेपालको समृद्धिको आधार स्तम्भको रूपमा व्याख्या गरे। ‘पर्यटन रोजगारी सिर्जना गर्छ, राजस्व उत्पादन गर्छ र नेपालको पहिचानलाई विश्वमञ्चमा पुर्याउँछ,’ उनले भने।
प्रशासनिक नेतृत्वको भूमिकामा आफू समस्याको समाधान गर्ने र समन्वयकारी भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले थपे, ‘हाम्रो कार्यकाल सीमित भएपनि त्यस अवधिमा दीर्घकालीन महत्त्वका योगदान दिन चाहन्छौं।’
अध्यक्ष मैनालीले पर्यटन लक्ष्य हासिल गर्न साझा प्रयास र नीतिको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेकोमा जोड दिएकाे बाेर्डले जनाएकाे छ। यो प्रतिबद्धतालाई नवनियुक्त सदस्यहरू भट्ट र थपलियाले समेत दोहर्याउँदै अनुभव र नवीनताको संयोजनमार्फत पर्यटन क्षेत्रलाई अघि बढाउने दृढता व्यक्त गरे।
कार्यक्रममा पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटा, सदस्य राजेन्द्र लामा, मन्त्रालयकी सहसचिव इन्दु घिमिरेसहित बोर्डका अधिकारी, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति थियो।