पोखरा। पर्यटनकर्मी महिलाको सशक्तिकरण एवम् पर्यटन विकासमा सक्रिय ‘पर्यटन व्यवसायी महिला संघ नेपाल’ (टेवान)को बिहीबार पोखरामा सम्पन्न सातौं साधारणसभा तथा चौंथो अधिवेशनबाट शोभा न्यौपाने सर्वसम्मत अध्यक्ष चुनिएकी छिन्। उनी होटल एड्मायरकी संचालक हुन्।
नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष कमला गिरी, उपाध्यक्ष अनिता खड्का, महासचिव शोभा अधिकारी, सचिव शान्ता सुवेदी, कोषाध्यक्ष शारदा लम्साल, वरिष्ठ सदस्य कमला गुरुङ र सदस्यहरूमा मीना बराल, विष्णुमाया गुरूङ, सुधा सुवेदी र जया कार्की छन्।
टेवानको नयाँ कार्यसमिति
वि.सं. २०७४ सालमा स्थापित टेवानले पोखरामा क्रियाशील पर्यटनकर्मी महिलालाई संगठित गरेर विभिन्न कार्यक्रम गर्दै आएको छ। यसमा १४० जना सदस्य छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा टेवानको कार्यक्रम गरिएको हो। उक्त अवसरमा संस्थाको स्मारिका ‘परिकल्पना’ पनि विमोचन गरियो।
कार्यक्रममा पर्यटनमन्त्री पाण्डेसहित गण्डकी प्रदेशसभा सदस्यद्वय प्रकाश बराल र सरस्वती गुरुङ, नेपाल उद्योग वाणिज्य महांघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, कास्की प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, पोखरा भ्रमण वर्ष- २०२५का संयोजक गोपीबहादुर भट्टराई, पर्यटनविज्ञ सञ्जयकान्त सिग्देल, टेवान अध्यक्ष कमला गिरी, गण्डकीका प्रेस रजिष्ट्रार विमला भण्डारी, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, पर्यटनकर्मीहरू टीकाराम सापकोटा, बोबरजंग गुरुङ, पुरस्कृत व्यक्तित्वहरू हरिध्वज तुलाचन र उर्मिला गुरुङलगायतले सम्बोधन गरेका थिए।
स्मारिका ‘परिकल्पना’ लोकार्पणको क्षण।
उदाहरणीय पर्यटनकर्मीहरू पुरस्कृत
टेवानले नेपालको पर्यटनमा योगदान पुर्याउने दुई जना उदाहरणीय पर्यटनकर्मीलाई पुरस्कृत गरेको छ। उसले वरिष्ठ पर्यटन उद्यमी हरिध्वज तुलाचन र ग्रामीण पर्यटन अभियन्ता उर्मिला गुरुङलाई ‘स्व. हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कार’ प्रदान गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि पर्यटनमन्त्री पाण्डेले उनीहरूलाई सम्मानपत्र प्रदान गरे। उनीहरूलाई जनही १५ हजार ५ सय ५ रुपैयाँ, सम्मानपत्र र दोसल्लाबाट पुरस्कृत गरिएको हो।
वरिष्ठ पर्यटन उद्यमी हरिध्वज तुलाचनलाई सम्मानपत्र हस्तान्तरण गर्दै पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे।
पोखरामा ड्रयागन होटल खोलेर पर्यटनमा होमिएका ८१ बर्से तुलाचनले पर्यटन, समाजसेवा र सांस्कृतिक क्षेत्रको अगुवाइ गर्दै आएका छन्। उनले ६ दशकभन्दा लामो समयदेखि पर्यटनमा योगदान पुर्याएका छन्।
त्यसैगरी नेपालको पहिलो पर्यटन गाउँ स्याङ्जाको सिरुबारीमा नेतृत्वदायी भूमिका निर्बाह गर्दै आएकी ३६ वर्षिया उर्मिला गुरुङ ग्रामीण पर्यटन अभियन्ता हुन्। पोखराको सुविधायुक्त बसाइँ त्यागेर एक दशकदेखि उनी सिरुबारी फर्केर सबैको प्रेरणास्रोत बनेकी छिन्।
ग्रामीण पर्यटन अभियन्ता उर्मिला गुरुङलाई सम्मानपत्र हस्तान्तरण गर्दै पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे।
उनी अतिथि सत्कार, होमस्टे व्यवस्थापन, सांस्कृतिक कार्यक्रमलगायत कामको नेतृत्व गर्छिन्। त्यति मात्र होइन, मुलुकभित्रका विभिन्न गाउँमा होमस्टे व्यवस्थापन तालिमसमेत दिँदै आएकी छिन्।
पर्यटनविज्ञ सञ्जयकान्त सिग्देलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिको सिफारिसका आधारमा उनीहरूलाई सम्मान गरिएको हो। पुरस्कारको अक्षय कोषमा स्व. श्रेष्ठकी जीवनसाथी तुमला श्रेष्ठले ६ लाख, ५१ हजार १ सय ११ रुपैयाँ जम्मा गरेकी छिन्।
आउँदो वर्षदेखि नेपालको पर्यटनमा योगदान पुर्याएका एक जना प्रेरणादायी पर्यटनकर्मीलाई यो पुरस्कार दिने टेवानले जनाएको छ।
पर्यटन उद्यमी स्व. हुतराज श्रेष्ठ।
कार्यक्रममा संस्थाको उचाइ माथि पुर्याएकामा अध्यक्ष गिरीलाई कार्यसमितिका पदाधिकारी र सदस्यले सम्मान गरेका थिए। त्यस्तै पत्रकारितामार्फत् पर्यटन विकासमा योगदान पुर्याउने विश्व भण्डारी र विजय नेपाललाई पनि प्रशंसापत्र प्रदान गरियो।
दिगो पर्यटनमा हाम्रो जोड: शोभा न्यौपाने (अध्यक्ष, टेवान)

हामी टेवानका नियमित कार्यक्रमलाई निरन्तरता दिनेछौं। जस्तो कि यो वर्ष ‘तेस्रो तीज सांस्कृतिक महोत्सव’ गर्नेछौं। यसमा विदेशी पर्यटकको पनि सहभागिता गराउने छौं। पर्यटनकर्मी महिलाको सशक्तिकरण गर्ने काम त छँदैछ। अब हामी इको टुरिजम र सस्टेनेबल टुरिजममा जोड दिनेछौं। यसका लागि आवश्यक तालिम, सचेतनालगायतका कार्यक्रम गर्नेछौं।