काठमाडाैं। ‘लाङटाङ ट्रेल रन’मा पुरूषतर्फ साेलुखुम्बुका मिलन कुलुङ र महिलातर्फ सुनसरी राेकाया विजयी भएका छन्।
रसुवा र नुवाकोटको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार लाङटाङको क्यान्जिन भ्याली (३ हजार ८ सय ५० मिटर)बाट सुरू भएकाे ३२ किलोमिटर लामो दूरी २ घण्टा २६ मिनेटमा पुरा गरी मिलन प्रथम भए। त्यस्तै पुरूषतर्फ पाँचथरका विशाल राई दाेस्राे (२ घण्टा २७ मिनेट), साेलुखुम्बुका अर्जुन राई कुलिङ तेस्राे (२ घण्टा २८ मिनेट) र काठमाडाैंका किरनसिंह बाेगटी चाैथाे (२ घण्टा २९) भए।
त्यस्तै महिलातर्फ ३२ किलोमिटर लामो दूरी २ घण्टा ५५ मिनेटमा पुरा गरी टिएससीकी सुनसरी प्रथम बन्दा एनपिसीकी लाक्पा निमा शेर्पा दाेस्राे (३ घण्टा ५ मिनेट), खाेटाङकी निर्मला राई तेस्राे (३ घण्टा १५ मिनेट) र साेलुखुम्बुकी आङफुर्पा शेर्पा चाैथाे (३ घण्टा ३८ मिनेट) भइन्।
विजेताहरू।
ट्रेल रनका महिला र पुरुष विजेताले छुट्टाछुट्टै नगद पुरस्कार प्राप्त गरेका छन्। पहिलो स्थान हासिल गर्ने धावकले १ लाख रुपैयाँ, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार, चौथोले २५ हजार र पाँचौंले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
ट्रेल रन रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा भएको प्रतियाेगितामा ८६ जना पुरूष र १५ जना महिला गरी १०१ जना सहभागी थिए।
साहसिक खेल र पदयात्राको गन्तव्यका रूपमा परिचित लाङटाङ क्षेत्रलाई अझ चर्चित बनाउने लक्ष्यसहित यो ट्रेल रन आयोजना गरिएको आयोजकले बताएका छन्।

संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेश, नेपाल पर्यटन बोर्ड र गोसाइँकुण्ड गाउँपालिकाको सहयोगमा आयोजना गरिएको प्रतियोगिता बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले उद्घाटन गरेका थिए।