काठमाडौं। साहसिक पर्यटन क्षेत्रलाई व्यावसायिक तथा ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित सात दिने आधारभूत क्यानोनिङ गाइड तालिम नुवाकोटको सिस्नेरी फुङफुङ झरनामा सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा ककनी गाउँपालिकाको सहयोगमा नेपाल क्यानोनिङ एसोसिएसनले कार्यक्रम आयोजना गरेको हो।
काठमाडौँ उपत्यकाबाट मात्र २९ किलोमिटरको दूरीमा रहेको सिस्नेरी क्षेत्र साहसिक खेल पर्यटनको दृष्टिकोणले अत्यन्तै सम्भावनायुक्त मानिन्छ। करिब १०० मिटर अग्लो फुङफुङ झरना यसको मुख्य आकर्षण हो भने आसपासकै क्षेत्रमा थुप्रै अन्य झरनाहरू पनि अवस्थित छन्।

तालिममा नेपाल क्यानोनिङ एसोसिएसनका तर्फबाट पाँच जना दक्ष प्राविधिक प्रशिक्षक टोली खटिएको थियो। २५ जना प्रशिक्षार्थीहरूले सफलतापूर्वक तालिम पूरा गरेका छन्। आयोजकका अनुसार तालिमको मुख्य उद्देश्य नेपालमा दक्ष जनशक्ति उत्पादन गर्दै साहसिक पर्यटनमा रोजगारी र व्यावसायिक अवसर सिर्जना गर्नु हो।
नेपाल क्यानोनिङ एसोसिएसनका अध्यक्ष राजेन्द्र लामाले तालिमको दोस्रो चरण एडभान्स क्यानोनिङ गाइड तालिम यही जेठ ३१ गते शनिबारदेखि सोही स्थानमा सुरु हुने जानकारी दिए।

उनका अनुसार क्यानोनिङ खेल विश्वभर तीव्र गतिमा लोकप्रिय बन्दै गएको छ र नेपालजस्तो एक हजारभन्दा बढी सुन्दर झरनाहरू भएको देशमा यसको अपार सम्भावना छ। तर, आवश्यक पूर्वाधार, गुणस्तरीय तालिम र प्रभावकारी प्रचारप्रसारको कमीले गर्दा नेपालले अझै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा राम्रो उपस्थिति जनाउन नसकेको उनले बताए।
कार्यक्रमले नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै, नेपाललाई अन्तर्राष्ट्रियस्तरमा क्यानोनिङ गन्तव्यको रूपमा स्थापित गर्न यस्ता तालिमहरूलाई निरन्तरता दिइने आयोजक संस्थाले जनाएको छ।
