काठमाडौं। दोलखाको जिरी क्षेत्रका पर्यटकीय गन्तव्यहरु समेटेर ‘ठेम्बा समूह’ले निर्माण गरेको ‘जिरी एड्भेन्चर ट्रेक’ वृत्तचित्र (डकुमेन्ट्री)को काठमाडौंमा प्रदर्शन (प्रिमियर) गरिएको छ।
जिरीसँग सम्बन्धित व्यक्तित्वहरु तथा पर्यटन क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुको उपस्थितिमा आइतबार नेपाल पर्यटन बोर्डको हलमा वृत्तचित्र प्रदर्शन गरिएको हो।

जिरीको पर्यटनलाई पुनः चलायमान बनाउने अभियान अन्तर्गत वृत्तचित्र निर्माण गरिएको निर्माता म्युनकुमार जिरेलले जानकारी दिए।
वृत्तचित्रमा यात्रा टोलीले जिरीको लिङ्कन बजारदेखि सुरु गरेर क्याङ्से पोखरी–च्योर्दोङ–पाथिभरा–बुकिनी–यलेखर्क–कालपोखरी–पाँचपोखरी–जटापोखरीसम्मको यात्रा गरेको छ। सो यात्राको क्रममा भेटिने पर्यटकीय तथा धार्मिकस्थलहरुबारे भिडियोमा विस्तारमा उल्लेख गरिएको छ।

यात्रालाई जिरीका अनुभवी पर्यटनकर्मी तथा सगरमाथा आरोही लालबहादुर जिरेलले वर्णन तथा सहजीकरण गरेका छन्।
वृत्तिचत्र प्रदर्शनीमा अथितिको रुपमा नेपाल सरकार पूर्वमन्त्री पार्वत गुरुङ, पर्यटन विभागका महानिर्देशक नारायण रेग्मी, काँग्रेस नेता अजयबाबु सिवाकोटी, रुद्र खड्का, बालकृष्ण सिवाकोटी, माओवादी नेता नवीन जिरेल, विश्वसाइकल यात्री पुष्कर शाहलगायत जिरीका पर्यटन व्यवसायी, पर्यटनकर्मी, संस्कृतिकर्मी, कलाकारलगायतको उपस्थिति रहेको थियो।

पूर्वमन्त्री गुरुङले वृत्तचित्रमा समेटिएका स्थलहरुको आफूले अवलोकन गरेको अनुभव सुनाएका थिए। उनले वृत्तचित्रले पर्यटन प्रवर्द्धमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। दोलखाको विकासको महत्वपूर्ण मोडल नै पर्यटन रहेको उनको भनाइ थियो।
त्यस्तै विभागका महानिर्देशक रेग्मीले वृत्तचित्रमा देखाइएका पर्यटकीय गन्तव्यहरु उत्कृष्ट रहेको प्रतिक्रिया दिए। ती गन्तव्यहरुमा आवश्यकता अनुसार भौतिक विकास तथा ट्रेल सूचारु र ठाउँ ठाउँमा होमस्टे निर्माण गरेको दिगो पर्यटन विकासको आधार बन्ने बताए।
प्रदर्शनीमा सहभागी अन्यले वृत्तचित्रमार्फत् जिरीमा लुकेर रहेको गन्तव्यहरुलाई प्रवर्द्धन गर्ने प्रायस गरेकोमा खुसी व्यक्त गरे।

वृत्तचित्रको निर्माताको रुपमा कुमार जिरेल र हिरा जिरेल रहेका छन्। त्यस्तै वृत्तचित्र भुवन केसीले छायांकन, केसी र डिनसन साह सम्पादन गरेका छन्।
यात्रा टोलीमा लालबहादुर, हिरा, म्युनकुमार जिरेलसँगै दीपक जिरेल, अनिल कार्की, हिकमत, लोक र कुशल जिरेल सहभागी थिए।
वृत्तचित्र सम्भवत: आजै (आइतबार) युट्युब च्यानलमा प्रकाशन गर्ने जनाइएको छ।








d

सम्बन्धित भिडियाेहरू: