काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कैलाली जिल्लास्थित ऐतिहासिक गर्भा दरबारको संरक्षणमा सरकार गम्भीर रहेको र देशको बहुभाषिक तथा बहुसांस्कृतिक पहिचान प्रवर्द्धनप्रति प्रतिवद्ध रहेको बताएका छन्।
राष्ट्रियसभामा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले कैलाली जिल्लाको चुरे गाउँपालिका– ४ मा अवस्थित गर्भा दरबारलाई पुरातात्त्विक सम्पदाको सूचीमा सूचीकृत गरिसकिएको जानकारी दिए।
मन्त्री पाण्डेले दरबारको संरक्षणप्रति स्थानीय चासो पनि बढिरहेको उल्लेख गर्दै २०७८ साल असोज ७ गते चुरे गाउँपालिकाले पुरातत्व विभागमा संरक्षणका लागि औपचारिक निवेदन पेस गरेको जानकारी दिए। त्यसपछि विभागले स्थलगत निरीक्षण गरी विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने कार्य अघि बढाएको र चालू आर्थिक वर्ष २०८२/८३ मा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीका लागि रु. ४ लाख रकम प्रस्ताव गरिएको पनि उनले स्पष्ट पारे। उनका अनुसार अब संरचना संरक्षणको कार्य संस्थागत रूपमा अगाडि बढाइनेछ।
यसैबीच, राष्ट्रिय सभा सदस्य मोहम्मद खालिदले उठाएकाे प्रश्नको उत्तर दिँदै मन्त्री पाण्डेले सरकार बहुभाषिक पहिचान प्रवर्द्धनमा प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले भने, ‘नेपालको संविधानको धारा ६ अनुसार नेपालमा बोलिने सम्पूर्ण मातृभाषाहरू राष्ट्रभाषा हुन् र धारा २८७ अनुसार गठन भएको भाषा आयोगले ती भाषाको संरक्षण, अध्ययन, अनुसन्धान तथा विकास कार्य गर्दै आएको छ।’
जनगणना २०७८का आधारमा हालसम्म १२४ वटा भाषा पहिचान भइसकेका छन्, जसमा ९३ वटा अर्थात् करिब ७५ प्रतिशत भाषा आदिवासी समुदायसँग सम्बन्धित छन्। ती भाषाहरूको संरक्षण, अभिलेखीकरण र प्रयोग प्रवर्द्धनमा सरकार निरन्तर लागि परेको पनि मन्त्री पाण्डेले उल्लेख गरे।
मन्त्री पाण्डेले विविध भाषाभाषी समुदायको मौलिक अधिकार संरक्षण गर्नु नै सशक्त सामाजिक समावेशिता र पहिचानको आधार भएको स्पष्ट गर्दै सरकारको नीति तथा कार्यक्रम भाषा र संस्कृति संरक्षणमै केन्द्रित रहेको बताए।