काठमाडौं। विभिन्न देशका ११ आराेहीले यस ग्रीष्मकालीन सिजनमा पाकिस्तानको नंगा पर्वत (८,१२६ मिटर)को पहिलो आरोहण गरेका छन्।
नेपालस्थित सेभेन समिट ट्रेक्सकाे आराेही टाेलीले जुलाई ३ र ४ मा शिखर चुमेका हुन्। सोही क्रममा शिखरसम्मको बाटो समेत फिक्स गरिएकाे छ।
शिखर चुम्ने आरोहीहरू पौला बिर्गिट्टा स्ट्रेन्गेल, डोरोता लिडिया सामोको, जोर्ज एगोचिएगा, राना हसन जावेद, दावा शेर्पा, पासाङ दुक्पा शेर्पा, लाक्पा टेम्बा शेर्पा, अली हसन, एल्ली पेप्पर, मिङटेम्बा शेर्पा (मिकेल), दावा शेर्पा रहेका छन्।
यसबीच यो सफलताको घडीमा एउटा दुखद खबर पनि आएको छ। चेक गणराज्यकी अनुभवी आरोही क्लारा कोलोचोभा नंगा पर्वतको दोस्रो शिविरमाथि झर्दै गर्दा चिप्लिएर बेपत्ता भएकी छन्। उनकाे साथमा शेर्पा तारामन तामाङ थिए। उनीहरू एउटा ढुंगाले भरिएको खण्डबाट झर्दै गर्दा क्लारा चिप्लिएर हराएकी हुन्।
क्लारा कोलोचोभा । तस्बिर: सामाजिक सञ्जाल
हाल पाकिस्तानी सेनाको हेलिकप्टर, परिवार र आधार शिविर टोलीको समन्वयमा खोजी कार्य तीव्र गतिमा अघि बढाइएको छ।
केही सञ्चारमाध्यममा क्लाराको दुर्घटना अक्सिजन सिलिन्डर विस्फोट भएर भएको जनाइएकाे छ। तर, सेमेभ समिटले त्याे सत्य नभएकाे बताएकाे छ।
नंगा पर्वत सन् १९५३ जुलाई ३ मा पहिलोपटक हर्मन बुलले आरोहण गरेका थिए।