काठमाडौं। नेपालले पेरिसमा हुने ‘४७औँ सेसन अफ दि वर्ल्ड हेरिटेज कमिटी’मा तिलौराकोटलाई युनेस्कोको विश्वसम्पदा सूचीमा राख्ने सरकारको एजेन्डा अगाडि सार्ने भएकाे छ।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले यसबारे जानकारी दिए।
मन्त्री पाण्डेले भने, ‘वर्ल्ड हेरिटेज कमिटीको बैठक पेरिसमा बस्छ। २१ सदस्य राष्ट्र रहेको कमिटीको बहुमतबाट निर्णय हुन्छ। भारत, कतार, जापान, कोरियाजस्ता एसियाली देशहरूसहित अन्य देशहरू त्यसमा छन्। हामी यो प्रक्रिया धेरै वर्षदेखि अघि बढाइरहेका छौं, यसमा अध्ययन, स्रोत र समय धेरै लगाइएको छ।’
उनका अनुसार तिलौराकोटमा प्राप्त पुरातात्विक प्रमाणले त्यहाँ अत्याधुनिक र व्यवस्थित नगरको अवस्थिति प्रमाणित गरेको छ। ‘त्यस बेलामै त्यहाँ औद्योगिकीकरण भएको, सहरमा हुने पूर्वाधार पार्क, सिटी प्लान, बाटोघाटा सबै थिए भन्ने कुरा वैज्ञानिकहरूले पुष्टि गरिसकेका छन्,’ मन्त्री पाण्डेले भने।
सरकारले तिलौराकोटको महत्वलाई विश्व सामु प्रस्तुत गर्दै त्यसलाई युनेस्कोको सूचीमा समावेश गराउन कूटनीतिक पहल तीव्र बनाउने तयारी गरिरहेको उनले बताए।
कमिटीकाे बैठक यही जुलाई ६ देखि १६ तारिखसम्म फ्रान्सकाे राजधानी पेरिसमा बस्दैछ। बैठकमा सहभागी हुन पर्यटनमन्त्री त्यसतर्फ प्रस्थान गर्दैछन्।