काठमाडौं। पछिल्लो ६ महिनामा ५ लाख ७७ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२५को अघिल्लो ६ महिनामा ५ लाख ७७ हजार ६८९ पर्यटकले नेपाल भ्रमण गरेका हुन्।
उक्त ६ महिना (जनवरी–जुनसम्म)को अवधिमा नेपाल भ्रमण आउने सबैभन्दा धेरै पर्यटक भारतीय छन्। त्यसपछि क्रमशः अमेरिकन, चिनियाँ, बंगलादेशी, बेलायती, अस्ट्रेलियन, थाई, श्रीलंकन, जर्मन र कोरियन रहेका छन्।

यस वर्षको पछिल्लो ६ महिनामा नेपाल आउने पर्यटकको संख्या गत वर्षको अघिल्लो ६ महिनाको तुलनामा ०.९ प्रतिशत कम हो। गत वर्ष उक्त अवधिमा ५ लाख ८३ हजार १९ पर्यटक नेपाल आएका थिए।
यस वर्षको जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८०, मार्चमा १ लाख २१ हजार ६८७, अप्रिलमा १ लाख १६ हजार ४९०, मेमा ८६ हजार २१६, जुनमा ७६ हजार ४२५ पर्यटक नेपाल भ्रमणमा आएका हुन्।
सकारात्मक प्रयास, अपेक्षाविपरीत नतिजा
सरकार, पर्यटनसम्बद्ध निकायहरु र निजी क्षेत्र नेपालको पर्यटन आगमनलाई कोरोना महामारी अगाडिको अवस्थामा फर्काउने अभियानमा छन्। कोरोना महामारी अगाडि सन् २०१९मा नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल आएका थिए। सरकारको लक्ष्य यही बिन्दुमा पुर्याएर थप अगाडि बढ्ने छ। तर, सन् २०२५को पछिल्लो ६ महिनाको तथ्यांक त्यस लक्ष्यका लागि उत्साहजनक देखिँदैन।
पछिल्लो ६ महिनामा पर्यटक आकर्षणका लागि सरकारले केही सकारात्मक प्रयास गर्यो। गत मे महिनमा सरकारले आयोजना गरेको ‘सगरमाथा संवाद’का लागि ठुलो संख्यामा विशिष्ट पाहुनाहरु नेपाल आएका थिए। ती पाहुनाहरुलाई ‘माउन्टेन फ्लाइट’देखि सम्पदाहरुको भ्रमण गराउने काम सरकारबाट भएको थियो।
बुद्ध एयर
अन्नपूर्ण (प्रथम) हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा मे र जुनमा आधार शिविरमा हीरक महोत्सव आयोजना गरिएको थियो। त्यस्तै फेब्रुअरीमा बेलायती राजकुमार एडवार्डको नेपाल भ्रमण भएको थियो। यसका साथै पर्यटन बोर्डको आयोजना तथा सहकार्यमा हिमालयन ट्राभल मार्ट, बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट, नाइस थ्री नेसन (नेपाल, भारत र चीन) एक्स्पो, एभरेस्ट समिटर्स समिटलगायत ठुला मार्टहरुको आयोजना भए।
यद्यपि, भौतिक संरचना, सडकको दूरावस्था, असहज हवाई यातायात, अन्तर्राष्ट्रिय प्रचारप्रसारमा कमीलगायत कारण पर्यटक आगमनमा समस्या देखिएको बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन्। उनले प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिकाे बैठकमा विदेशी पर्यटक आगमन सन्तोषजक रहेपनि अहिलेको आगमनदर प्रयाप्त नरहेको उल्लेख गरे।
विद्यमान समस्या हल गरेमा आगामी दुई वर्षपछि वार्षिक २५ लाख पर्यटक नेपालमा भित्र्याउन सकिने जोशीकाे दाबी छ।