काठमाडौं। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) नेपालको सहकार्यमा सञ्चालित ‘दिगो पर्यटन परियोजना (एसटिपी)’ अन्तर्गत न्यून मूल्य अनुदान सम्झौताका लागि प्रस्तावना माग गरिएको छ।
परियोजनाले तीनवटा रणनीतिक उद्देश्य अघि सारेको छ। पहिलो अपि हिमाल–सैपाल, मनास्लु क्षेत्र/बुद्ध हिमालचुली ग्रेट लैक सर्किट र कञ्चनजङ्गा भ्याली बेस क्याम्प पदमार्गहरूमा पर्यटन सेवाको सुधारमार्फत स्थानीय समुदायको जीविकोपार्जन अभिवृद्धि गर्ने, दोस्रो, महिला, युवा तथा सीमान्तकृत समुदायका लागि रोजगारी तथा उद्यमशिलताको अवसर सृजना गर्ने र तेस्रो नीतिगत पैरवी, डिजिटल नवप्रवर्तन, ब्रान्डिङ, लक्षित बजारीकरण तथा सञ्चारको माध्यमबाट पर्यटक आगमनमा वृद्धि गर्ने लक्ष्य लिएको छ।
यसै सन्दर्भमा परियोजनाले तीनवटा प्राथमिक पदमार्ग तथा अन्य पर्यटन गन्तव्यहरूमा पूर्वाधार निर्माण/मर्मत, पर्यटनमा आधारित तालिम र उद्यमशिलता विकास कार्यक्रम सञ्चालन गर्न चाहने सम्बन्धित जिल्लामा दर्ता भएका गै.स.स, सहकारी वा समुदायमा आधारित संघसंस्थाहरूबाट प्रस्ताव माग गरेको छ।
कार्यक्रमहरू स्थानीय निकाय, सरकारी कार्यालय तथा सरोकारवालासँग समन्वयमा सम्पन्न गर्नुपर्नेछ।
प्रस्ताव बुझाउने अन्तिम मिति २०८२ साउन ४ गते (२०२५ जुलाई २०) आइतबारसम्म तोकिएको छ।
योग्य तथा इच्छुक संघसंस्थाहरूले परियोजनाको कार्य शर्त र प्रस्ताव फाराम ईमेलमार्फत [email protected] मा सम्पर्क गरी प्राप्त गर्न सक्नेछन्। साथै, यी सामग्रीहरू गुगल ड्राइभ लिंकमार्फत पनि डाउनलोड गर्न सकिनेछ।