काठमाडौं। नेपाल पर्यटन बोर्डले आफ्नो मासिक अनलाइन फोटोग्राफी प्रतियोगिता ‘फोटो-नेपाल’ अन्तर्गत मे र जुन महिनाका विजेता तस्बिरहरू घोषणा गरेको छ।
बोर्डको photo.ntb.gov.np वेबसाइटमार्फत आयोजित प्रतियोगितामा प्राप्त तस्बिरहरूले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र जनजीवनलाई कलात्मक ढंगले प्रस्तुत गरेका छन्।
प्रतियोगितामा २४१ वटा तस्बिरहरू प्राप्त भएका थिए। तीमध्ये उत्कृष्ट तीन तस्बिरलाई विजेता घोषित गरिएको छ। जसमा लाखे (बबी शाही), साँझदेखि बिहानसम्म (सुशील श्रेष्ठ) र जनकपुरधाम (प्रियाशुं कर्ण) रहेका छन्।
लाखे– बबी शाही: नेपालको जीवन्त सांस्कृतिक सम्पदाको सशक्त चित्रण
प्रतियोगिताको मूल्याङ्कन वरिष्ठ फोटोग्राफर मीनरत्न बज्राचार्य र नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनील शर्माले गरेका थिए।
विजेता हरेकले नगद रु. २५,००० पुरस्कार प्राप्त गर्नेछन्।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले फोटोनेपालबारे बताउँदै भने, ‘फोटोनेपाल सिर्जनात्मक विधासँग जोडिने माध्यम मात्र होइन, यसले नेपालप्रतिको भावना संसारभर पुर्याउने हाम्रो प्रयास पनि हो।’
साँझदेखि बिहानसम्म– सुशील श्रेष्ठ: प्रकाश र समयको आकर्षक रूपान्तरण
नेपाल पर्यटन बोर्डले प्रतियोगितामा सहभागी सबै फोटोग्राफरहरूलाई धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले नेपाललाई एक सुन्दर, विविधतापूर्ण र आकर्षक पर्यटन गन्तव्यको रूपमा प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
विजेता तथा अन्य उत्कृष्ट तस्बिरहरू photo.ntb.gov.np मा हेर्न सकिन्छ।