काठमाडौं। तिब्बतसँग सिमा जोडिएको हिमाली जिल्ला हुम्लाका बासिन्दाले निःशुल्क भिसा लिएर कैलाश मानसरोवर तिर्थयात्रा गर्न पाउने वातावरण बनाउन माग गरेका छन्। हुम्लाका चार जना युवाले विभागीय सचिव मार्फत् परराष्ट्र मन्त्री आरजू राणालाई ज्ञापनपत्र बुझाएका छन्।
नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सचिव बखतबहादुर शाही, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरू रविन्द्र शाही र भरत शाहीका साथै हुम्ला काँग्रेसका युवा नेता धर्मराज छन्त्यालले साउन ४ गते ज्ञापनपत्र बुझाएका हुन्।
हुम्लाको सिमकोट विमानस्थल।
‘हाम्रो हिल्सा नाकाबाट मानसरोवर यात्रा आदिमकालदेखि चलिआएको छ’, ज्ञापनपत्र बुझाएपछि संघका सचिव बखतबहादुर भन्छन्, ‘हुम्ला जिल्ला निवासी तिर्थयात्रीले निःशुल्क भिसा पाउनै पर्दछ।’
हुम्लाका बासिन्दाहरू सांस्कृतिक, धार्मिक र सामाजिक रूपमा कैलाश मानसरोवर क्षेत्रसँग ऐतिहासिक र आध्यात्मिक सम्बन्ध रहि आएको छ।
कोभिडपछि रोकिएको हिल्सा नाका चीनले हालै खोलेको छ। तर, चीनद्वारा लागु भिसा शुल्क तथा प्रशासनिक प्रक्रिया अत्यन्त जटिल र खर्चिलो भएकाले हुम्लाका गरिबहरू पवित्र तिर्थस्थल पुग्नबाट वञ्चित हुँदै आएका छन।
चीनको प्रशासनिक प्रक्रियाले लामो सांस्कृतिक परम्परा मासिने डर भएकाले यी युवाले नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन्। नेपाल सरकारले चीनसँग कूटनीतिक पहल गरेर हुम्लीको माग सम्बोधन गर्नु पर्दछ।
हिल्सा नाका, कैलाश मानसरोवर यात्राका ागि शताब्दीयौंदेखि प्रयोग हुँदै आएको एक परम्परागत मार्ग हो। प्राचीन समयदेखि नै भारत र नेपालबाट तीर्थयात्रीहरू कठिन भौगोलिक अवस्थाका बाबजुद हिँडेरै हुम्ला हुँदै कैलाश मानसरोवर पुग्थे।

हुम्लाले तिब्बतसँग लामो समयदेखि व्यापारिक र सांस्कृतिक सम्बन्ध पनि कायम राखेको छ। सिमकोटबाट हिल्सासम्म हेलिकप्टर सेवा उपलब्ध छ र हिल्सादेखि कैलाशसम्म जिप तथा बस सुविधा छ।