काठमाडौं । पर्यटकीय नगरी जिरीको चर्चित धार्मिकस्थल जिरेश्वर महादेवमा दिनदिनै पर्यटक बढ्दै गएका छन्। जिरी नगरपालिका वडा नंं. ४, जिरेश्वरी खोला किनारमा चट्टानको ओढारमा बसेका जिरेश्वरको दर्शन गर्नाले मनोकामना पुरा हुने जनविश्वास छ।
तिर्थालुले महादेवलगायत देवदेवीको दर्शन गर्नुका साथै पूजापाठ गर्छन्। कतिपयले स्द्री लगाउने, त्रिशूल र धजा चढाउने गर्छन्। जिरेश्वर महादेव संरक्षण समितिका सचिव भिमप्रसाद शर्माका अनुसार यसपालि साउने सोमबार पनि तिर्थालुको राम्रै चहलपहल भएको थियो।

मन्दिर हातामा नागको मूर्ति पनि छ। त्यसैले नागपञ्चमीका दिन धुमधामसँग मेला लाग्छ। मेला भर्न सर्बसाधारण र झाँक्रीको भिड हुन्छ। नागपञ्चमी मेलामा हजार भन्दा बढी तिर्थालुको भिड लाग्ने गरेको शर्माले बताए।
यहाँ तिर्थालुले विशेषगरि त्रिशूल, तुल, घण्टी, फलफुल, नरिवल, माला र गाईको दुध चढाउँछन्। मेलाका दिन मात्र हजारभन्दा बढी भक्तजन आउँछन्। वर्षभरिमा करिब २५ सय तिर्थालुले मन्दिर दर्शन गर्ने गरेको पाइन्छ।
मेलामा सहभागी हुने धामी, झाँक्री, लाखे तथा पञ्चे बाजा समूहलाई मन्दिरले खाजा खर्च दिने गरेको छ।
दोलखाको जिरीमा बसेका जिरेश्वर महादेवको महिमा ठुलो छ। यिनको दर्शनले मनोकामना पुरा हुने जनविश्वास छ।
मन्दिर क्षेत्रको विकासमा धमाधम काम भइरहेका छन्। ‘हामी जात्रास्थलमा भजन गृह र नागको मूर्तिसहित मुल गेट बनाउने छौं’, समितिका सचिव शर्मा भन्छन्, ‘जिरेश्वरलाई घुम्नैपर्ने धार्मिक गन्तव्यका रुपमा विकास गर्दैछौं।’
मन्दिरमा तिर्थालुले चढाएको भेटी पूजारीले संकलन गरी मन्दिरको बैंक खातामा जम्मा गरिन्छ। उक्त रकम मेला व्यवस्थापन, खानेपानी र भौतिक संरचना निर्माण तथा पुननिर्माणमा खर्च हुँदै आएको शर्माले बताए।
जिरेश्वर मन्दिर काठमाडौंबाट करिब १८६ किलोमिटर दुरीमा पर्दछ। जिरी बजारबाट नजिकै छ, करिब दुई किलोमिटरमा। स्मरणीय छ, दोलखाको रमणीय उपत्यका जिरी ‘सगरमाथाको प्रवेशद्धार’का रुपमा चिनिन्छ।

मन्दिर उत्पत्तिको कथा
भिमप्रसाद शर्मा,
सचिव, जिरेश्वर संरक्षण तथा विकास समिति
प्राचीन समयमा यस क्षेत्रमा गाईपालन गरिन्थ्यो। एक दिन किसानको गाई हरायो। खोज्दै खोज्दै जाँदा त्यो गाई ओढारमा दुध खुवाएर बसेको रहेछ। यस्तो देखेपछि देवता भएको विश्वासमा त्यस किसानले पूजापाठ गरेछन्। यसरी जिरेश्वरलाई पूज्न सुरु गरियो। प्राकृतिक रुपमा उत्पन्न भएको शिला ओढारमा छ। माथि गाईको थुनबाट निरन्तर दुध (जल) झरिरहन्छ।
थप तस्बिरहरू :



