काठमाडौं
आगामी भदौ ७ र ८ गते नेपालको पर्वतीय पर्यटन विकासमा सक्रिय अग्रणी संस्था ‘नेपाल पर्वतारोहण संघ’को निर्वाचन हुँदैछ। निर्वाचनका लागि दुई समूह प्रतिस्पर्धामा छन्। एउटा समूहको नेतृत्व प्रजातन्त्रवादी धारका कुलबहादुर गुरुङले गरेका छन् भने अर्को समूहको नेतृत्व वामपन्थी पृष्ठभूमिका फुर गेल्जे शेर्पाले ।
-1755516529.jpg)
बाउन्न वर्षअघि स्थापित संघको निर्वाचनमा ८१२ जना सदस्यले मताधिकार प्रयोग गर्दैछन्। निर्वाचनले अध्यक्षसहित १८ जनालाई प्रत्यक्ष निर्वार्चित गर्नेछ। यतिबेला निर्वाचनको माहौल तातेको छ। यसै सन्दर्भमा एभरेस्ट पेडियाले अध्यक्ष पदका प्रत्यासी गुरुङसँग कुराकानी गरेको छ।
गुरुङ तीन दशकभन्दा लामो समयदेखि पर्यटनमा क्रियाशिल छन्। धादिङको रुबीभ्याली गाउँपालिका–४ चालिस गाउँमा जन्मेहुर्केका गुरुङ भरियाबाट पदयात्रा पर्यटनमा होमिएका हुन्। उनले सन् २००४ देखि ‘एलायन्स ट्रेक्स एन्ड एक्सपिडिसन’ चलाउँदै आएका छन्। उनको कम्पनीले टुर, ट्रेकिङ र पर्वतारोहण गराउँछ।
कुशल नेतृत्व क्षमता भएका गुरुङसँग व्यवसायिक ज्ञान त छँदैछ, उनी व्यवस्थापन र पर्यटनमा स्नातकोत्तर पनि हुन्। साथै कानुन विषयमा एलएलबी उत्तिर्ण उनी ‘पर्वतीय पर्यटन’ विद्याबारिधीको तयारीमा छन्।
उनले विभिन्न संघसंस्थाको नेतृत्व सम्हालिसकेका छन्।
नेपाल पर्वतारोहणको पूर्व महासचिव, टानको पूर्व उपाध्यक्ष हुन्। यसैगरि गणेश हिमाल पर्यटन विकास समिति (जिएसटिडिसि) र गुरुङ पर्यटन व्यवसायी संघको संस्थापक अध्यक्ष हुन्। उनी क्लाइमेट एलायन्स फर हिमालयन कम्युनिटिज्का संस्थापक सचिव पनि हुन्।
उनी आफ्नो समूहले निवार्चन जित्नेमा ढुक्क छन्। नयाँ ऊर्जाका साथ नेतृत्वमा पुगेपछि पर्वतारोहण संघलाई नयाँ उचाइमा पुर्याउने उनको योजना छ।