पोखरा । तराईबाट एकै दिनमा मुुस्ताङको मुक्तिनाथ पुुग्दा लेक लाग्ने लगायतका स्वास्थ्य समस्या हुने भएकाले घुमन्तेहरू सचेत हुनुुपर्नेमा जोड दिइएको छ । करिब सय मिटर उचाईको तराई क्षेत्रबाट एकै दिनमा ३७१० मिटर अग्लो मुक्तिनाथमा पुुग्दा स्वास्थ्यमा समस्या देखिने भएकाले सरोकारवालाहरूले घुुमन्तेहरूको ध्यानाकर्षण गराएका छन्।
पर्यटक सचेतना बढाउने प्रमुख दायित्व नेपाल पर्यटन बोर्ड र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को हो।
मुस्ताङको घरपझोङ गाउँपालिकाले बुधबार पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले सुरक्षित घुमफिरका विषयमा सचेतना बढाउनु पर्नेमा जोड दिए।
अल्टिच्युडमा एक्लमटाइज हुन काठमाडौं वा पोखराबाट मुस्ताङ यात्रामा निस्केका पर्यटकहरू पहिलो बास पोखरा वा बेनीबजारमा र दोस्रो बास मार्फा वा जोमसोममा बास बस्नु उपयुक्त हुन्छ।
‘छोटो समयमै एकैपटक होचो भूभागबाट २८ सय मिटर माथिको उचाइमा पुग्नु जोखिमपूर्ण हुन्छ’, घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले भने, ‘पर्यटकलाई आराम गर्दै, समय लिएर न्यानो कपडाका साथ उच्च भूभागमा घुम्नु पर्दछ।’
मोहनसिंह लालचन अध्यक्ष, घरपझोङ गाउँपालिकाका
एक तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८ पर्यटकको लेक लागेर मृत्यु भएको थियो। मृत्यु हुनेमा ६ नेपाली र बाँकी विदेशी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ। यस्तै जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा उक्त जिल्लामा मात्र वि.सं. २०८१ सालमा लेक लागेर ज्यान गुमाउनेहरूमा २ जना नेपाली र ९ जना विदेशी छन्। यिनमा भारतीय पर्यटकको संख्या बढी छ।
उच्च हिमाली क्षेत्रमा घुम्ने पर्यटकलाई लेक लाग्ने समस्याबाट सुरक्षा प्रदान गर्ने विषयमा पोखरामा मन्थन गरिएको हो। कार्यक्रमको समन्वय होटल संघ पोखराले गरेको थियो।
संघका अध्यक्ष लक्ष्मण सुवेदीले भने, ‘भारतीय पर्यटक एकै दिनमा मुक्तिनाथ पुगेर मुस्ताङ र पोखरा दुबै ठाउँमा रात नकाटी फर्कने परिपाटीले सुरक्षा जोखिम बढेको मात्र नभई बसाई अवधि पनि छोटिन पुगेको बताए । यस्तो जोखिम मोल्दा लेक लागेर कतिपय पर्यटकको ज्यान समेत गएको छ।’

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य विकल शेरचन, होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुली, पर्यटनकर्मी हरिप्रसाद शर्मा गैह्रे, एक्यापका प्रमुख डा. रविन कडरिया, नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने, टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, नाट्टा गण्डकीका उपाध्यक्ष राजेश पहारी, पर्यटनकर्मीहरू हरि भुजेल, धर्म पन्थी, दुुर्गादत्त दाहाल र घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरी अधिकारीले पर्यटक सुरक्षाका लागि नीति र नियमन दुबै जरुरी भएको भनाई राखेका थिए।
स्मरणीय छ, नेपाली पर्यटन मार्केटिङको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डले पर्यटक सचेतनाका लागि प्रभावकारी अभियान चलाउन सकेको छैन। उसको फेसबुक पेज, युुट्युव च्यानल, वेवसाईट लगायतका डिजिटल प्लेटफर्महरूमा यसबारे जानकारी राखिएको छैन। साथै यस काममा एक्यापका साथै स्थानीय सरकारले पनि अगुवाई गर्नु पर्ने देखिन्छ।