काठमाडौँ । सन् २०२५ को अगस्ट महिनामा नेपालमा ८८ हजार ६८० पर्यटक आगमन भएका छन्। नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार यो संख्या गत वर्षको सोही महिनाको तुलनामा २२ प्रतिशतले बढी हो।
तथ्यांक अनुसार भारतबाट सबैभन्दा धेरै ३५ हजार ५०५ (४० प्रतिशत) पर्यटक नेपाल आएका छन्। त्यसपछि चीनबाट ७ हजार ५३३ (८.५ प्रतिशत), अमेरिकाबाट ६ हजार ६८ (६.८ प्रतिशत), श्रीलंकाबाट ५ हजार ९५६ (६.७ प्रतिशत) र बंगलादेशबाट ४ हजार २६२ (४.८ प्रतिशत) पर्यटक आएका छन्।
सन् २०२५ को जनवरीदेखि अगस्तसम्मको आठ महिनामा कुल ७ लाख ३६ हजार ५६२ पर्यटक नेपाल आएका छन्। क्षेत्रगत हिसाबले हेर्दा दक्षिण एसियाली (सार्क) मुलुकबाट मात्रै ४७ हजार १३७ (५३ प्रतिशत) पर्यटक आएका छन्। यस्तै एसियाका अन्य मुलुकबाट १५ हजार ७७७ (१७.८ प्रतिशत), युरोपबाट ११ हजार १३२ (१२.६ प्रतिशत), ओसनियाबाट २ हजार ४३५ (२.७ प्रतिशत), अमेरिकाबाट ७ हजार २९३ (८.२ प्रतिशत), मध्यपूर्वबाट ९४४ (१.१ प्रतिशत), अफ्रिकाबाट ३२२ (०.४ प्रतिशत) र अन्य मुलुकबाट ३ हजार ६४० (४.१ प्रतिशत) पर्यटक नेपाल आएका छन्।
गत जुलाई महिनामा ७० हजार १९३ पर्यटक आएका थिए। कोरोना महामारीपछि प्रभावित भएको नेपालको पर्यटन क्रमशः पुनरुत्थान हुँदै गएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले बताएका छन्।
उनले भने, “भारतबाट एयर इण्डिया एक्सप्रेस थपिँदा पनि भारतबाट आउने पर्यटकको संख्या उल्लेख्य बढेको छ। हामी आगामी दिनमा निरन्तर पर्यटक आगमन वृद्धि हुनेमा आशावादी छौं।”