बागलुङ । ढोरपाटनमा पर्यटकको चाप बढेसँगै घोडा व्यवसाय पुनः फस्टाउन थालेको छ। सडक विस्तारपछि कामविहीन बनेका घोडा–खच्चड अहिले पर्यटकका लागि सवारी र तस्बिर खिच्ने माध्यम बनेपछि पुनः आम्दानीको स्रोत बन्न थालेका छन्।
पहिले सामान ढुवानीका लागि प्रयोग हुने घोडा सडक बनेसँगै बेकामे भएका थिए। धेरै किसानले घोडा पाल्न छोडेका थिए । तर हाल पर्यटन गतिविधि बढेपछि स्थानीयले फेरि घोडा किन्न थालेका छन्।
ढोरपाटन नगरपालिका-९ का खिमबहादुर विकका अनुसार उपत्यकाबाट बुकीपाटनसम्म घोडा चढ्दा पर्यटकले प्रतिव्यक्ति चारदेखि पाँच हजार रुपैयाँसम्म तिर्ने गरेका छन्। चौरमा फोटो वा भिडियो खिच्दा भने ५० देखि १५० रुपैयाँसम्म शुल्क लिइने गरेको उनले बताए। “अहिले दुई–चार जना पर्यटक बोके पनि राम्रै आम्दानी हुन्छ,” उनले भने।
-1730508484.jpg)
अघिल्ला दिनमा घोडा–खच्चडमार्फत आलु, स्याउ, सिमी लगायतका उत्पादन बजार पुर्याउने र त्यहाँबाट खाद्यान्न ल्याउने गरिन्थ्यो। अहिले ती घोडा पर्यटक बोकेर कमाइ गर्ने साधन बनेका छन्। गाडी पुग्न नसक्ने दुर्गम स्थानमा अझै पनि घोडाको प्रयोग हुने गरेको व्यवसायी धनराम विकले बताए।
तर घोडा सवारीका नाममा व्यवसायीले बढी शुल्क लिने गरेको गुनासो पनि आएको छ। ढोरपाटन घुम्न पुगेका पर्यटक कुलदीप तामाङले सुरुमै १०० रुपैयाँ भनिए पनि अन्तिममा ३०० रुपैयाँ लिन खोजिएको बताए। उनले यस्तो कार्य तत्काल रोक्न र व्यवसायीलाई कारबाही गर्नुपर्ने माग गरे।
-1730508622.jpg)
ढोरपाटन सिकार आरक्ष कार्यालयका अनुसार पछिल्लो वर्षमा पर्यटक आगमन उल्लेख्य वृद्धि भएको छ। आर्थिक वर्ष २०८०र८१ मा १५ हजार ५७३ पर्यटक पुगेका ढोरपाटनमा आव २०८१र८२ मा २३ हजार ६९२ पर्यटक पुगेका छन्। बर्खामा वनफूल हेर्न र हिउँदमा हिउँ खेल्न आउने पर्यटकले संख्या बढाएको जनाइएको छ।
-1730508475.jpg)