नेपालगन्ज। गण्डकी र लुम्बिनी प्रदेशबीचको सहकार्यमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नेपालगन्जमा अन्तरप्रदेशीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको आयोजना, नाट्टा बाँकेको समन्वय र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धकत्वमा गरिएको हो।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले सीमाक्षेत्र हुँदै नेपाल भित्रिने भारतीय पर्यटकले भोगिरहेका समस्या समाधानका लागि सरकार सरोकारवालासँग निरन्तर छलफलमा रहेको बताए। “भारतबाट आउने पर्यटकलाई सहज वातावरण दिनु हाम्रो प्राथमिकता हो। उनीहरूमाथि अपमानजनक व्यवहार हुन नदिन सबै जिम्मेवार हुनुपर्छ,” मन्त्री न्यौपानेले भने। उनले सरकारले पूर्वाधार विकास, प्रचार–प्रसार र सुरक्षाको ग्यारेन्टी गर्ने र होटल व्यवसायीले सत्कार र अर्गानिक खानाद्वारा पर्यटकलाई आकर्षित गर्न सक्ने बताए।
त्यस्तै, लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्लेले प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि आवश्यक बजेट छुट्याएको र प्रचारात्मक सामग्री स्थान–स्थानमा राखिएको जानकारी दिइन्।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ अधिकृत युवराज गुरुङले पर्यटनलाई चलायमान उद्योग भन्दै यस कार्यक्रमलाई दुई प्रदेशका सरोकारवालाले आफ्ना गन्तव्यको बजार विस्तार गर्ने प्लेटफर्मका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए।
बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दिप पंगेनीका अनुसार, नेपाल आउने करिब ८० प्रतिशत पर्यटक निकुञ्ज तथा संरक्षण क्षेत्र अवलोकन गर्न पुग्छन्। उनले बाँके निकुञ्जमा बाघ भए पनि प्रचार–प्रसारको कमीका कारण पर्यटक बर्दिया जाने गरेको बताए। यसका लागि पर्यटन व्यवसायीले थप पहल गर्नुपर्ने उनको भनाइ थियो।
नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले दुई प्रदेशबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्यको थालनी गरिएको उल्लेख गरे। द्वितीय उपाध्यक्ष राजेश पहाडीले पछिल्लो समय आन्तरिक तथा भारतीय पर्यटकलाई लक्षित गर्दै सीमाक्षेत्रीय अभियानलाई विशेष महत्व दिएको बताए।
नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले भारतीय तथा आन्तरिक पर्यटकलाई पोखरा पु(याउन यसअघि सीता एअरमार्फत नेपालगन्ज–पोखरा बीच ४० वटा चार्टर फ्लाइट सञ्चालन भएको र हाल बुद्ध एअरले साप्ताहिक तीन उडान चलाइरहेको जानकारी दिए।
कार्यक्रममा नेपालगन्ज र पोखराका पर्यटन व्यवसायी, भारतीय पत्रकार एसके मधेसीया, नाट्टा पाल्पा अध्यक्ष राजीव शाह, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भीमबहादुर रानाभाटलगायतले पनि आ–आफ्ना धारणा राखेका थिए।