म्याग्दी । लामो समयदेखि बन्द अवस्थामा रहेको म्याग्दीको मालिका गाउँपालिका–३ र ४ सिमानास्थित ओखरबोट तामाखानी पुनः सञ्चालनका लागि अन्वेषण सुरु गरिएको छ।
खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त एमस दोङयी मिनरल्स प्रालिका भूगर्भविद्हरूको टोलीले खानी क्षेत्रमा स्थलगत अध्ययन थालेको हो। टोलीले पहिलो चरणमा तामाको मात्रासहित उत्खननका क्रममा हुनसक्ने वातावरणीय असर र त्यसको न्यूनीकरणबारे अध्ययन गरिरहेको भूगर्भविद् रोनित पौडेलले जानकारी दिए।
“प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन पारित भएपछि खानीमा खोज र अनुसन्धान हुनेछ,” पौडेलले बताए। “सम्भाव्यता अध्ययनपछि मात्र उत्खनन प्रक्रिया अघि बढाइनेछ।”
वि.सं. २०२८ सम्म स्थानीय प्रविधिबाट तामा निकाल्ने काम हुने गरेको यो खानी प्रविधिको अभाव र राज्यलाई तिर्नुपर्ने कर धेरै भएपछि बन्द भएको हो। त्यतिबेला दैनिक दुई सयभन्दा बढी कामदार संलग्न भई सात–आठ धार्नी तामा निकाल्ने गरेको मालिका–३ का ७२ वर्षीय विसराम पटेलले स्मरण गरे।
खानीमा दुई वटा मुहान रहेका छन्। ती मुहानको लम्बाइ २५० देखि ५०० मिटर र भित्र करिब २०० मिटरसम्म सुरुङ रहेको बताइन्छ। अझै पनि खानीभित्र तामाका धाउ स्पष्ट देख्न सकिन्छ।
उत्खनन सुरु गर्नुअघि वातावरणीय प्रभाव मूल्यांकनका लागि कम्पनीले सार्वजनिक सुनुवाइ र लिखित सुझाव संकलन गरिसकेको मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले जानकारी दिए।
स्थानीयवासीले खानी उत्खननमा रोजगारीमा प्राथमिकता दिनुपर्ने माग राखेका छन्। “खानी खुलेमा पुस्तौँदेखि बसोबास गरेको थातथलो छोड्नुपर्ने हुन सक्छ,” स्थानीय दीपक पटेलले भने, “त्यसैले रोजगारीमा प्राथमिकता र सुरक्षित स्थानान्तरण सुनिश्चित गर्नुपर्छ।”
म्याग्दीको धवलागिरि गाउँपालिका र रघुगंगा गाउँपालिकासहित २१ स्थानमा तामाखानी रहेको भए पनि अधिकांश सञ्चालनमा आउन नसक्दा सीपमय स्थानीय ‘खनेल’हरूको ज्ञान पुस्तान्तरण हुन सकेको छैन। परम्परागत रूपमा खानी खन्ने पेशा छन्त्याल समुदायसँग जोडिएको मानिन्छ।