भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका-४ मा अवस्थित महभिर झरना हालका वर्षमा पर्यटकको आकर्षक गन्तव्य बनेको छ। संरक्षण र विकासमा जोड दिइएपछि यो झरना घुम्न आउनेहरूको रोजाइमा परेको स्थानीयले बताएका छन्।
मुन्दुम पदमार्ग अन्तर्गत चखेवा नजिकै रहेको यो झरना मनोरञ्जनको उत्कृष्ट स्थलका रूपमा परिचित हुँदै गएको छ। सडकमार्गको सहज पहुँचले दैनिक दर्जनौँ पर्यटक यहाँ पुग्ने गरेका छन्। टेम्केमैयुङ-४ का वडाध्यक्ष हर्कराज राईका अनुसार झरनाबाट खस्ने पानीको फोहोराले आगन्तुकलाई लोभ्याउने गरेको छ। चालु आर्थिक वर्षमा मात्र संरक्षण र विकासका लागि रु आठ लाख बजेट छुट्याइएको छ।
विशेषगरी गर्मीयाम र बिदाका दिनमा यहाँको भीड झनै बढ्ने गरेको छ। स्थानीयका अनुसार शनिबार र अन्य विदामा विभिन्न स्थानबाट पर्यटकहरू झरना हेर्न आउने गरेका छन्। करिब ६० मिटर अग्लो यो झरनाबाट वर्षभरि नै पानी खसिरहने भएकाले यसको प्राकृतिक दृश्यले सबैलाई आकर्षित गर्ने गरेको छ।
गाउँपालिकाले पर्यटकको सुविधा लक्षित गर्दै झरना वरिपरि आवश्यक संरचना निर्माण र बाटो विस्तारको काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिए। सदरमुकामबाट नजिकै पर्ने भएकाले यहाँ मानिसहरूको चाप बढी हुने उनको भनाइ छ।
गाउँपालिका उपाध्यक्ष रमादेवी राईका अनुसार महभिर झरनालाई पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्ने उद्देश्यले निरन्तर विकास कार्य भइरहेको छ। उनले टेम्केमैयुङलाई प्राकृतिक स्रोत र पर्यटनसँग जोडेर दीर्घकालीन योजनासमेत अघि बढाइएको बताइन्।
त्यस्तै गाउँपालिका अध्यक्ष सरोज बस्नेतले कृषि र पर्यटनलाई दिगो आर्थिक विकाससँग जोड्ने लक्ष्यसहित लगानीमा प्राथमिकता दिइएको उल्लेख गरे। उनका अनुसार महभिर झरना हुँदै पदमार्ग विस्तार गरी पर्यटकलाई थप सहज बनाउने योजना अघि सारिएको छ।
भोजपुर सदरमुकामदेखि करिब २९ किलोमिटर दूरीमा पर्ने यो झरना भोजपुर–चखेवा मध्यपहाडी लोकमार्गबाट समेत सजिलै पुग्न सकिन्छ।