काठमाडाैँ । मनसुन सकिएपछि पर्यटकीय सिजन सुरु हुन्छ । मौसम सफा र चाडपर्व नजिकिँदै जाँदा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल सुरु हुने यो समयमा यसपालि भने मुख्य पर्यटकीय बजार तथा होटलहरू सुनसान देखिएका छन् ।
भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा सिंहदरबारसहित सार्वजनिक सम्पत्ति तथा चेन होटलहरूमा भएको तोडफोड र आगजनीका कारण पर्यटन क्षेत्रमा ठूलो असर परेको हो । आन्दोलनमा पर्यटकहरूलाई शारीरिक रूपमा कुनै क्षति नभए पनि उनीहरूले असुरक्षाको अनुभव गरिरहेका छन् । त्यसैले उनीहरू धमाधम आ–आफ्नो देश फर्किरहेका छन् । आउनका लागि अग्रिम रूपमा रिजर्भ गरिएका होटल बुकिङहरू पनि क्यान्सिल भइरहेको छ ।
यतिबेला पोखरा, चितवन, बन्दीपुरलगायतका मुख्य पर्यटकीय क्षेत्र सुनसान छन् । सिजनकै बेला होटलहरू सुनसान हुँदा व्यवसायीहरू चिन्तित बनेका छन् ।
होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकीय मौसममा यस्तो अवस्था बेहोर्नुपर्दा निकै पीडा भएको बताए । उनका अनुसार सामान्यतया यो समयमा ९८ प्रतिशतसम्म होटल भरिभराउ हुने गर्थे तर अहिले भने १० प्रतिशतमै चित्त बुझाउनुपरेको छ । उनले भारातिय पर्यटक केही मात्रामा रहेका भए पनि नयाँ पर्यटक भने नआएको बताए । सुवेदीका अनुसार ‘जेनजी आन्दोलन’ पछि २५ प्रतिशत बुकिङ क्यान्सिल भएको छ ।
पोखरा क्षेत्रमा एकै रातमा ४० हजार पर्यटकलाई व्यवस्थापन गर्न सक्ने गरी पर्यटकीय स्तरका एक हजार दुई सयभन्दा बढी होटल रहेको सङ्घले जनाएको छ । पोखरामा न्यूनतम एक हजारदेखि एक लाखसम्मका स्वीट रुम उपलब्ध रहेको सुवेदीले जानकारी दिए ।
त्यस्तै चितवनका युवा व्यवसायी तथा होटल एसोसिएसन नेपाल (हान) का केन्द्रीय सदस्य सुमन घिमिरेका अनुसार सेप्टेम्बर १५ देखि ७०–८० प्रतिशत पर्यटक भित्रिनुपर्नेमा अहिले ४० प्रतिशतमा मात्र चित्त बुझाउनुपर्ने अवस्था छ ।
घिमिरेले भने, “जेनजी आन्दोलनले पर्यटन क्षेत्रमा धेरै असर पारेको छ । त्रासका कारण पर्यटकहरूले नेपाल नै नआउने भनेर सोचिरहेका छन्, जसका कारण अग्रिम बुकिङहरू पनि सबै क्यान्सिल गर्दैछन् ।” उनले थपे, “दश प्रतिशत पनि पर्यटक छैनन् । अहिलेको अवस्थालाई हेर्ने हो भने यसपालि पर्यटनबाट २५ देखि ३० प्रतिशत मात्र आम्दानी हुने देखिन्छ ।”
उनका अनुसार जनवरीपछि हुने बुकिङमा भने समस्या छैन । तर सेप्टेम्बरदेखि अक्टोबरसम्म व्यक्तिगत रूपमा वा अनलाइनमार्फत बुकिङ गरेका पर्यटकहरूले सबै अग्रिम बुकिङ रद्द गरिसकेका छन् ।
घिमिरेले थपे, “जेनजी आन्दोलनले देशकै अर्थतन्त्रको मुख्य आधारमध्ये एक पर्यटन क्षेत्रमा ठूलो असर पारेको छ । यसबाट उठ्न ठूलो चुनौती छ र सबै मिलेर अघि बढ्नुपर्ने आवश्यकता छ ।”