इलाम । जेनजी आन्दोलनका कारण सुनसान बनेका इलामका चर्चित पर्यटकीय स्थल अन्तु र कन्याममा पुनः पर्यटकको चहलपहल सुरु भएको छ ।
आन्दोलनपश्चात् देशको अवस्था सामान्य हुँदै गएपछि दैनिक सयौँ स्वदेशी पर्यटक अन्तुमा घाम झुल्के हेर्न, पोखरीमा डुङ्गा सयर गर्न, घोडचढीमा रमाउन र चियाबारी अवलोकन गर्न पुगिरहेका छन् । आन्दोलनअघि दैनिक दुई हजारभन्दा बढी पर्यटक आउने अन्तुमा अहिले करिब पाँच सयजना मात्र पुग्ने गरेको अन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेले बताए ।
विशेषगरी भारतको पश्चिम बंगालबाट आउने पर्यटकको आगमन घटेको छ । आन्दोलनपछि सुरक्षाका कारण भारत सरकारले समेत नेपाल प्रवेशमा कडाइ गरेपछि अहिले भारतीयको चाप न्यून भएको हो ।
कन्याममा पनि आन्दोलनपश्चात् सुनसान वातावरण देखिए पनि अहिले पुनः केही चहलपहल सुरु भएको होटल व्यवसायी टेकराज गिरिले जानकारी दिए । कन्याम चियाबारीमा रमाउन, वनभोज गर्न र अध्ययन अनुसन्धानका लागि पर्यटक पुग्ने गरेका छन् ।
अन्तु र कन्यामसँगै इलामका सन्दकपुर, माइपोखरी, ढाप पोखरी, पानीटार चिया बगान, टुम्लिङ, टङ्लु, सानो पाथीभरा र भण्डीडाँडासहितका अन्य पर्यटकीय स्थलमा पनि पर्यटक आवागमन क्रमशः बढ्दै गएको पर्यटन सूचना केन्द्र जोरकलसका सूचना अधिकृत गगन घिमिरेले बताए ।