पोखरा । पोखरा पर्यटन परिषद्ले देशको पर्यटन उद्योग गम्भीर संकटमा परेको भन्दै यसको पुनउत्थानका लागि नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई पहल गरिदिन आग्रह गरेको छ ।
परिषद्का अध्यक्ष तारानाथ पहारीको नेतृत्वमा सात सदस्यीय टोलीले सोमबार काठमाडौंमा गभर्नरलाई ध्यानाकर्षणपत्र बुझाउँदै पर्यटन पुनर्जीवनका लागि आवश्यक कदम चाल्न आग्रह गरेको हो ।
ध्यानाकर्षणपत्रमा हालैका आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र लुटपाटजस्ता घटनाले पर्यटन उद्योगमा गम्भीर असर पारेको उल्लेख गर्दै यस्तो संवेदनशील समयमा सरकार र बैंकिङ क्षेत्रले विशेष सहयोग पुर्याउनुपर्नेमा जोड दिइएको छ ।
“पर्यटन सिजनको सुरुवातमै भएका बुकिङ रद्द र पर्यटक आगमनमा आएको गिरावटले उद्योगी तथा व्यवसायीहरू अस्तित्व संकटमा परेका छन्,” ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
परिषद्ले करिब सात खर्वभन्दा बढी लगानी भइसकेको पोखराको पर्यटन उद्योग हाल सुनसान बनेको जानकारी दिँदै व्यावसायीहरूले लिएको कर्जा तथा व्याज भुक्तानीको म्याद जरिवाना वा शुल्क विना थप गर्न, छोटो अवधिका लागि सञ्चालन कर्जा उपलब्ध गराउन र दीर्घकालीन कर्जामा पुनसंरचना तथा पुनर्तालिकीकरणको व्यवस्था गर्न माग गरेको छ ।
त्यसैगरी, साना तथा मझौला व्यवसायका लागि पाँच वर्षसम्म शून्य व्याजदरमा “व्यवसाय जीवनरक्षा कर्जा” पुनः उपलब्ध गराउनुपर्ने, पर्यटन क्षेत्रलाई अन्य उद्योग सरहको मान्यता दिने घोषणा तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने, र पर्यटन उद्योगमा दिइने कर्जाको व्याजदरलाई थप सहुलियतपूर्ण बनाउनुपर्ने मागसमेत गरिएको छ ।
नेपालले अनुकूल वातावरण बनाउन सके विश्वमै प्रतिस्पर्धा गर्न सक्ने पर्यटन उद्योग रहेको स्मरण गराउँदै परिषद्ले रोजगारी, विदेशी मुद्रा आर्जन र आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन भएकाले यसको पुनउत्थान अपरिहार्य रहेको जनाएको छ ।
परिषद्को टोलीले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीसँग पनि भेट गरी पर्यटन क्षेत्रलाई अघि बढाउने सम्भावनाबारे छलफल गरेको जनाएको छ ।