गण्डकी । पोखराका पर्यटन व्यवसायीले सोमबार सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरी पर्यटन क्षेत्रका समस्या र समाधानका उपायबारे ध्यानाकर्षण गराएका छन्।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वको टोलीले पर्यटन व्यवसायमा हाल आइरहेका संकट, पुनः उत्थानका सम्भावना र व्यवसायीको मागबारे अर्थमन्त्रीलाई अवगत गराएको हो। टोलीले यसै क्रममा विभिन्न मागसहितको ध्यानाकर्षण पत्र पनि बुझाएको थियो।
भेटमा परिषद्का पूर्वअध्यक्ष टीकाराम सापकोटा, रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहाल, नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेलगायत सहभागी थिए।
व्यवसायीहरूले हालैको ‘जेनजी’ आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटले पर्यटन क्षेत्रमा ठूलो क्षति पुर्याएको भन्दै दोषी पहिचान गरी कानुनी कारबाही गर्न र प्रभावित व्यवसायीलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन माग गरे।
पर्यटकहरूले भ्रमण प्याकेज र बुकिङ रद्द गर्न थालेपछि पर्यटन याम संकटमा परेको भन्दै व्यवसायीहरूले बैंक कर्जा तथा ऋण भुक्तानीमा समय थप्न, ब्याजमा सहुलियत दिन र साना–मझौला व्यवसायीलाई जीवन रक्षा कर्जा उपलब्ध गराउन आग्रह गरे। साथै पर्यटन उद्योगका लागि कर्जाको तिर्ने अवधि कम्तीमा २५ वर्ष बनाउन, भ्याट दर घटाउन, हवाई टिकट र पदयात्रामा लगाइँदै आएको भ्याट खारेज गर्न र कोराला नाका सञ्चालनमा पहल गर्न पनि माग गरिएको छ।
यसअघि टोलीले गभर्नर डा। विश्व पौडेल र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीसँग पनि पर्यटन क्षेत्रको पुनः उत्थानबारे छलफल गरेको अध्यक्ष पहारीले जानकारी दिए।