काठमाडौँ । विदेशी पर्यटकका लागि नेपालमै पहिलोपटक विश्वकै किफायती बिमा सेवा सुरु गरिएको छ । हिमालयन गार्डियन नेपालले सार्वजनिक गरेको यो योजना नेपाल पर्यटन सुरक्षामा नयाँ अध्यायका रूपमा प्रस्तुत भएको बताइएको छ । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत डा। धनञ्जय रेग्मीको पहलमा स्थापना भएको यस कम्पनीले सांस्कृतिक भ्रमण, साहसिक पदयात्रा र हिमाल आरोहणमा सहभागी हुने पर्यटकलाई लक्षित गरी यो सेवा सुरु गरेको हो । विगतमा यात्रुहरूले आफ्नै मुलुकमा महँगो बिमा लिनुपर्ने बाध्यता थियो तर अब नेपालमै सहज, सस्तो र प्रविधि–मैत्री बिमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
हिमालयन गार्डियनले तीन तहका योजना ल्याएको छ । सांस्कृतिक भ्रमण तथा अवकाश यात्राका लागि ३,५०० मिटर उचाइसम्म १४ दिनको लागि प्रतिव्यक्ति १६ अमेरिकी डलर तोकिएको छ । पदयात्राका लागि ५,५०० मिटर उचाइसम्म १४ दिनको बिमा शुल्क प्रतिव्यक्ति १५० अमेरिकी डलर तोकिएको छ भने हिमाल आरोहणका लागि ६,००० मिटर उचाइसम्म ६० दिनसम्म मान्य हुने बिमा शुल्क प्रतिव्यक्ति ५०० अमेरिकी डलर निर्धारण गरिएको छ । यी योजना नेपालमा दर्ता भएका ट्रेकिङ तथा पर्यटन एजेन्सीमार्फत मात्र खरिद गर्न सकिने व्यवस्था गरिएको छ । सरकारले पदयात्रा र आरोहण गतिविधिमा दर्ता गाइड र एजेन्सी अनिवार्य गरेको भएकाले यात्रुहरूले आफ्ना एजेन्सीमार्फत सहजै बिमा लिन सक्नेछन् । एजेन्सीहरूले अग्रिम भुक्तानी गर्नुपर्ने भएकाले बिमा शुल्कमा १० देखि १५ प्रतिशतसम्म अतिरिक्त सेवा शुल्क थप हुन सक्ने जनाइएको छ ।
प्रत्येक बिमासँगै यात्रुलाई स्याटेलाइट–जडित उपकरण पनि उपलब्ध गराइनेछ, जसमा आपत्कालीन अवस्थामा प्रयोग गर्न मिल्ने एसओएस बटन राखिएको छ । यात्रुले बटन प्रयोग गरेलगत्तै उद्धार सेवा, चिकित्सक तथा बिमा कम्पनीसँग प्रत्यक्ष सम्पर्क स्थापित हुन्छ र हेलिकोप्टर, शेर्पा वा स्वास्थ्यकर्मी तुरुन्तै घटनास्थलमा पुग्ने व्यवस्था मिलाइनेछ ।
संस्थापक डा। रेग्मीका अनुसार, यो प्रणालीले विगतमा पर्यटन क्षेत्रमा बढ्दै गएको नक्कली उद्धार र अस्पतालमा हुने अत्यधिक बिलिङजस्ता समस्या अन्त्य गर्नेछ । उनले भने, “हाम्रो उद्देश्य केवल बिमा बेच्नु होइन, संकटमा पर्यटकको जीवन सुरक्षित राख्नु हो ।” उनका अनुसार, सस्तो बिमा, पारदर्शी प्रक्रिया र तत्काल उद्धार प्रणालीले अन्तर्राष्ट्रिय पर्यटकबीच नेपालप्रति विश्वास बढाउने र मुलुकलाई अझ सुरक्षित र भरपर्दो पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नेछ ।