म्याग्दी । सन् २०२५ को शरद ऋतुमा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ अग्लो (८,१६७ मिटर) धवलागिरि हिमाल धवलागिरि गाउँपालिका–४ मा अवस्थित छ ।
पर्यटन विभागका अनुसार आरोहण अनुमति मार्फत अहिलेसम्म करिब रु ५० लाख ७१ हजार बराबरको राजस्व संकलन भएको छ । शरद ऋतुमा ८,००० मिटरभन्दा अग्ला हिमाल (सगरमाथाबाहेक) आरोहण गर्न विदेशी आरोहीले प्रतिआरोही ९०० अमेरिकी डलर शुल्क तिर्नुपर्ने व्यवस्था छ । अन्य साना हिमालमा भने १२५ देखि ४०० डलरसम्म शुल्क लाग्नेछ ।
पछिल्लो तथ्याङ्कअनुसार यस शरदमा मनास्लु हिमाल (८,१६३ मिटर) सबैभन्दा बढी लोकप्रिय बनेको छ, जहाँ ३७४ जनाले आरोहण अनुमति लिएका छन् । त्यसपछि धवलागिरि दोस्रो स्थानमा रहेको विभागले जनाएको छ ।
धवलागिरि गाउँपालिका–४ का वडा सदस्य हरिप्रसाद तिलिजाका अनुसार आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगीहरू आधार शिविर पुग्न थालेका छन् । यसपटक टोली मुस्ताङको मार्फादेखि याकखर्क हुँदै आधार शिविरतर्फ गएका छन् । मुदी बगर हुँदै जाने पदमार्ग बिग्रिएको र लामो भएकाले यो मार्ग रोजिएको हो ।
गत वसन्तमा १५ जनाले अनुमति लिएबापत करिब रु ३६ लाख ९१ हजार राजस्व संकलन भएको थियो । तर, सन् २०२४ को शरदमा अनुमति लिएका रसियाका पाँच पर्वतारोही हिमपहिरोमा परेर ज्यान गुमाएका थिए ।
धवलागिरि आरोहणलाई अन्य हिमालको तुलनामा बढी जोखिमपूर्ण र साहसिक मानिन्छ । छिनछिनमै बदलिने मौसम यहाँको प्रमुख चुनौती हो । सन् १९६० मा अष्ट्रियाली आरोही कुर्ट डिम्बर्गर नेतृत्वको टोलीले पहिलोपटक सफलतापूर्वक धवलागिरि आरोहण गरेको थियो ।