काठमाडौं । जापानमा हुन गइरहेको पर्यटन एक्स्पो २०२५ मा नेपाल सहभागी हुने भएको छ। सेप्टेम्बर २५ देखि २८ सम्म आइची स्काई एक्स्पो, आइची अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको हाे । संसारभरका पर्यटक, पर्यटन व्यवसायी र लगानीकर्तालाई लक्षित गरी उक्त मेला आयोजना हुँदैछ।
सो अवसरमा नेपाल प्याभिलियन – हल एफ, बुथ नं. ०६९ मा “प्राचीन संस्कृति र आधुनिक आकांक्षाको संगम” भन्ने नारासहित आफ्ना पर्यटन आकर्षणहरू नेपालले प्रस्तुत गर्नेछ। नेपालको सहभागिताले दिगो पर्यटन, साहसिक यात्रा, सांस्कृतिक अनुभव, स्वास्थ्य पर्यटन तथा प्राकृतिक सौन्दर्यलाई विशेष प्राथमिकता दिने जनाइएको छ।
नेपाल पर्यटन बोर्डका अनुसार मेलामा नेपालका प्रमुख पर्यटन कम्पनीहरूकाे सहभागिता रहनेछ। ती कम्पनीहरूमा हिमालयन गाइड्स नेपाल ट्रेक्स एण्ड एक्स्पेडिसन प्रा. लि., द ट्रेक नेपाल प्रा. लि., स्वोताह ट्राभल एण्ड एडभेन्चर प्रा.लि., सुमेघ टुर्स एण्ड ट्राभल्स प्रा.लि., कर्णाली राफ्टिङ एण्ड एडभेन्चर प्रा.लि., हाइ पीक एडभेन्चर प्रा.लि., येति ट्राभल्स प्रा.लि. र होटल मानाङ प्रा.लि. रहेका छन्।
नेपालले जापानी बजारलाई महत्वपूर्ण स्रोत बजारका रूपमा पहिचान गर्दै पर्यटकलाई उद्देश्यपूर्ण, जिम्मेवार र समृद्ध अनुभव प्रदान गर्ने गरी नयाँ साझेदारी र सम्भावनाहरू खोज्ने लक्ष्य राखेको छ।