गोरखा । प्रकृतिप्रेमी पर्यटकलाई लक्षित गरेर धार्चे–१ मेगाचेतदेखि याचुसम्म १० किलोमिटर पर्यटकीय पदमार्ग निर्माण भएको छ ।
मेगाचेत–चङ्कर हिमाल फेदी–रङ्सार डाँडा–कालोपोखरी–याचुखर्क–गुम्बाडाँडा हुँदै हुल्चोकसम्मको १० किलोमिटर पर्यटकीय पदमार्ग निर्माण गरिएको धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङले जानकारी दिए ।
‘पर्यटकीय पदमार्गका लागि २०७९ सालमा नक्साङ्न भएको थियो, तर बाटो थिएन,’ उनले भने, ‘नयाँ गन्तव्य पहिचान गरी पदमार्ग निर्माण गरेका हौं ।’ उक्त पदमार्ग क्याम्प ट्रेल (शिविर पदमार्ग) का रुपमा विकास गर्ने लक्ष्य राखिएको उनले बताए ।
यो पदमार्गमा बस्ती छैन । भेडा तथा गाई चर्ने खर्क रहेको क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गरिएको हो । पदमार्ग निर्माणका लागि पर्यटन विभागको करिब ६० लाख खर्च भएको उनले बताए । 'साउन ८ गते मेगाचेतबाट पदमार्ग निर्माणको काम सुरु भएको थियो । असोज ५ गते लगभग काम सकियो,' गुरुङले भने, '३ महिनाको अवधिमा करिब १० किलोमिटर पदमार्ग निर्माण गरेका छौं ।’
उक्त पदमार्ग भएर धादिङको रुबीभ्याली–६ गणेश कुण्डसम्म पुगिन्छ । गोरखाको मेगाचेतबाट गणेश कुण्ड एक दिनको पैदलयात्रापछि पुगिने गुरुङले बताए । ‘यो सात दिनको पर्यटकीय पदमार्ग हो, छोटो पदयात्रीका लागि यो उपयुक्त छ,’ उनले भने, ‘पदमार्ग क्षेत्रमा बस्ती नभएकाले खानेकुरा, टेन्टलगायतका सामग्री आफै बोकेर जानुपर्ने हुन्छ ।’
‘क्याम्प ट्रेल’ गर्ने पर्यटकका लागि उक्त पदमार्ग आकर्षक बन्ने उनले बताए । ‘सिँढी बनाउने, सोलिङ गर्ने, ग्याबिन, तारजाली राखेर पदमार्ग निर्माण गरेका छौं, पदमार्ग क्षेत्रमा ३ वटा चौतारो पनि निर्माण भएको छ,’ उनले भने, ‘कालोपोखरी नजिकै प्रतीक्षालय निर्माण भएको छ, पर्यटकले बाटो नभुलुन भनेर सङ्केतका लागि ठाउँरठाउँका लुङदर (ध्वजा) पनि राखेका छौं ।’
पर्यटकीय पदमार्गमा ३ वटा ओढार रहेकाले बस्नका लागि सहज बन्ने उनको भनाइ छ । उक्त पदमार्ग भएर यात्रा गर्नेले धार्चे–२ को कालोपोखरी (३४६६ मिटर) को अवलोकन, सर्किला पास (४१३०) पनि गर्न सक्छन् । पदमार्गमा खानेपानीको व्यवस्थापन भने हुन सकेको छैन । ‘क्याम्प ट्रेल भनेपछि दुई वटाजति भरिया घर पनि बनाउन सके पर्यटकलाई सजिलो पर्छ,’ उनले भने । कालोपखरीमा जनैपूर्णिममा मेला लाग्ने भएकाले धार्मिक पर्यटकलाई लक्षित गरेर पनि पदमार्ग निर्माण गरिएको हो ।
पदमार्ग क्षेत्रमा डाँफे तथा ९ प्रकारका गुराँस पाइन्छ । सेतक चिनी, सतुवा, पाँचऔंले, निरमसी, चिराइतो लगायतका वनस्पति र जडीबुटी पनि उत्त क्षेत्रमा पाइने गुरुङले जानकारी दिए । ‘छोटो दुरीका पदयात्रीका लागि निकै आकर्षकको गन्तव्य यो पदमार्ग बन्न सक्छ,’ उनले भने । विभिन्न पर्यटकीय पदमार्गमा सडक सञ्जाल पुगेपछि पर्यटकीय पदमार्गको खोजीको क्रममा मेगाचेतदेखि हुल्चोकसम्मको क्षेत्र समेटेर नयाँ गन्तब्य पहिचान गरिएको हो ।