सोलुखुम्बु। सगरमाथा क्षेत्रमा असामान्य हिमपातले यस वर्षको शरद् ऋतुको पर्यटन याम प्रभावित भएको छ। सामान्यतया असोजको अन्तिम साताबाट पर्यटकहरूको चहलपहल बढ्ने खुम्बु क्षेत्रमा यसपटक असोजको तेस्रो सातामै बाक्लो हिउँ परेपछि सम्पूर्ण क्षेत्र सेताम्य बनेको छ। स्थानीयवासीका अनुसार यो घटना दुर्लभ मानिएको छ।
गत आइतबार बिहानदेखि सुरु भएको भारी वर्षापछि खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चेभन्दा माथिल्लो क्षेत्रमा बाक्लो हिमपात भएको हो। दिङ्बोचे, लाबुचे, फेरेचे र गोक्यो क्षेत्रसम्म हिउँ जमेको स्थानीयहरूले बताएका छन्। गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण अधिकारीका अनुसार हिमपातका कारण माथिल्लो क्षेत्रका घर तथा होटलका छानामाथि चार फिटभन्दा बढी हिउँ जमेको थियो।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार दिङ्बोचे क्षेत्रमा रहेका पाँच वटा होटल हिउँको भार सहन नसकी भत्किएका छन्। प्रहरी नायब उपरीक्षक ९डीएसपी० मनोजित कुँवरका अनुसार मानवीय क्षति नभए पनि आर्थिक क्षति उल्लेखनीय रहेको छ। उनले असामान्य समयमा परेको हिमपातले पर्यटन व्यवसायीलाई थप चिन्तित बनाएको बताए।
यसै हिमपातका कारण खुम्बुमा निर्माणाधीन आमा दब्बलङ्ग जलविद्युत् आयोजनाको काम समेत रोकिएको छ।
सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) का अध्यक्ष लामाकाजी शेर्पाका अनुसार असोजमै हिउँ पर्नु मौसमी असन्तुलन र जलवायु परिवर्तनको स्पष्ट संकेत हो। सामान्यतया मङ्सिरदेखि माघसम्म मात्र बाक्लो हिमपात हुने यस क्षेत्रमा असामान्य समयमा हिउँ पर्नु चासोको विषय बनेको उनले बताए। वातावरणविद्हरूका अनुसार तापक्रम वृद्धि र वर्षाको असन्तुलनका कारण हिमाली क्षेत्रको मौसम थप अनिश्चित बन्दै गएको छ।
त्यसैबीच, महाकुलुङ गाउँपालिका–३ स्थित मेरापिक हिमाल आरोहणका क्रममा असोज २० गते कोरियाली नागरिक टेजुन पार्कको मृत्यु भएको छ। मौसम प्रतिकूल भएपछि बेपत्ता भएका पार्कको शव ६,१०० मिटर उचाइमा फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार अत्यधिक चिसो र अक्सिजनको कमीका कारण उनको मृत्यु भएको हुनसक्छ।
हिमपात र दुर्घटनाबीच पनि सोलुखुम्बुमा यस वर्षको दसैं उत्साहपूर्वक सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तर माप्य दूधकोसी गाउँपालिका–१ जुभिङमा खुकुरी प्रहारबाट तीन जना घाइते हुने घटनासहित केही छिटपुट घटना भने भएका छन्।
यस्तै, शनिबार राति परेको अविरल वर्षासँगै आएको पहिरोले सोलुदुधकुण्ड नगरपालिका–३ फलामखानीका प्रविण विश्वकर्माको घर बगाएको छ। परिवारका सबै सदस्य सकुशल भए पनि एक राँगो र चार वटा बाख्रा मरेका छन्।