सोलुखुम्बु । सोलुखुम्बुको मेरा पिक क्षेत्रमा हराएका दुई आरोहीमध्ये एक कोरियन नागरिकको शव फेला परेको छ भने साथमा रहेका नेपाली पर्वतीय गाइडककाे सकुशल उद्धार गरिएको छ।
नेपाल नेसनल माउन्टेन गाइड्स एसोसिएसनका अध्यक्ष तुलसीसिंह गुरुङका अनुसार उक्त घटना शनिबार भएको हो। खराब मौसमका कारण ४६ वर्षीय कोरियन नागरिक तेजुङ पार्क र नेपाली शेर्पा गाइड तेम्बा शेर्पा बेपत्ता भएका थिए।
नेपाल पर्वतारोहण संघको पहलमा आइतबार काठमाडौंबाट हेलिकप्टरमार्फत पठाइएको उद्धार टोलीमा अन्तर्राष्ट्रिय प्रमाणपत्रप्राप्त पर्वतीय गाइड रितेन तासी शेर्पा र अशिष गुरुङ सहभागी थिए। उक्त टोलीले सोमबार करिब ५,८०० मिटर उचाइमा पुगेर कोरियन आरोहीको शव र नेपाली गाइडको सकुशल उद्धार गरेको अध्यक्ष गुरुङले जानकारी दिए।
उनका अनुसार, हिमपातपछि एउटै स्थानमा रोकिँदा कोरियन आरोहीको हाइपोथर्मिया (चिसोका कारण शरीरको तापक्रम घट्ने अवस्था) का कारण मृत्यु भएको अनुमान गरिएको छ। “हामीले कोरियन आरोहीको शव र नेपाली गाइड दुवैलाई उद्धार गरेका छौं। गाइड सुरक्षित छन्। सम्भवतः कोरियन आरोही लामो समय हिउँमा बस्नुपर्दा हाइपोथर्मियाले निधन भएको हो,” अध्यक्ष गुरुङले बताए।
रितेन तासी शेर्पा र अशिष गुरुङ दुवै अनुभवी तथा अन्तर्राष्ट्रिय स्तरका प्रमाणित पर्वतीय गाइड हुन्। उनीहरूलाई संघले व्यावसायिक उद्धार अभियानका लागि विशेष रूपमा खटाएको थियो।
मेरा पिक, सगरमाथा क्षेत्रअन्तर्गत पर्ने ६,४७६ मिटर उचाइको हिमाल हो। नेपालकै उच्च ट्रेकिङ पिकमध्ये पर्ने मेरा पिक प्रविधिक रूपमा धेरै कठिन नभए पनि चुनौतीपूर्ण आरोहणका कारण विश्वभरका पर्वतारोहकबीच अत्यन्त लोकप्रिय मानिन्छ। यस पिकको शिखरबाट सगरमाथा, ल्होत्से, चो ओयू, मकालु लगायतका हिमालहरूको भव्य दृश्य अवलोकन गर्न सकिने भएकाले प्रत्येक वर्ष सयौं आरोही यहाँ आकर्षित हुने गर्छन्।