पोखरा
नेपालकै पहिलो ‘कविता गाउँ’ कास्कीको लुम्लेमा साहित्यकार विनोद गौचनको अर्धकदको प्रतिमा स्थापना गरिएको छ। गौचन कविता गाउँका परिकल्पनाकार हुन्। नेपालमा सबैभन्दा धेरै पानी पर्ने लुम्लेलाई उनकै अगुवाइमा वृहत् कार्यक्रमका बिचमा वि.सं. २०६५ चैत १५ गते ‘कविता गाउँ’ घोषणा गरिएको थियो।
लुम्ले कविता पार्कमा प्रतिमा अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै अन्नपुर्ण गाउँपालिका कास्कीका अध्यक्ष बिष्णु बहादुर के.सी.
साहित्यकार विनोद गौचनको परिकल्पनामा वि.स. २०६५ चैत १५ गते लुम्लेलाई ‘कविता गाउँ’ घोषणा गरिएको थियो।
सिर्जनात्मक वातावरण भएको लुम्ले आफैंमा एउटा महाकाव्य हो। वृहत् कविता हो। कलात्मक क्यानभास पनि। त्यसैले गीतकार एवम् कवि गौचनले यसलाई ‘कविता गाउँ’को विम्ब दिएका हुन्।
आइतबार लुम्लेको कविता पार्कमा उनको प्रतिमा अनावरण गरियो। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर के.सी.ले प्रतिमा अनावरण गरेका हुन्। सरल तथा कलात्मक भाषामा गीत र कविता लेख्दै आएका साहित्यकार गौचनको ५८ वर्षको उमेरमा वि.सं. २०७० पुस २० गते निधन भएको थियो।

साहित्यकार गौचनका दाजु विश्वमोहन गौचनको नेतृत्वमा लुम्ले कविता गाउँ अभियानले प्रतिमा निर्माण गरेको हो। कालीगण्डकीको शिलालाई प्रतिमामा ढाल्ने काम बागलुङका कलाकार सुबासचन्द्र लामिछानेले गरेका हुन् ।
प्रतिमा अनावरण कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष के.सी.ले लुम्लेलाई नयाँ चिनारी दिएर गएका गौचनप्रति श्रद्धासुमन अर्पण गरे।
‘हामी जनसहभागितामा निर्माण भएको यस कविता पार्कमा संलग्न सबैलाई बधाई दिन्छौं’, उनले भने, ‘अब थप पूर्वाधार विकासका काममा गाउँपालिकाले लगानी गर्नेछ।’

कार्यक्रममा प्रमुख अतिथि के.सी.का साथै कविता गाउँका परिकल्पनाकार गौचनकी जीवनसाथी सन्तमाया गौचन, स्थानीय युवा विवेक देवकोटा, सङ्गीतकार सुनिल थापा, कविता गाउँ समितिका अध्यक्ष भरत देवकोटा, समाजसेवी विश्वमोहन गौचनले कविता गाउँका परिकल्पनाकारको योगदानका विषयमा चर्चा गरेका थिए।
कन्दरा व्यान्डका सङ्गीतज्ञ सुनिल थापा सम्मानपत्र ग्रहण गर्दै
कार्यक्रममा यस अभियानमा सहयोग पु¥याउनेहरूलाई सम्मान गरियो। यसरी सम्मान पाउनेहरूमा कन्दरा व्यान्डका गायक विवेक श्रेष्ठ, सङ्गीतकार थापा, गायक दिलु गुरुङ, गायिका शितल थापा, पत्रकारहरू रुपनारायण ढकाल, कृष्णमणि बराल, अभियानका संस्थापक अध्यक्ष भक्तिराम देवकोटा लगायत थिए।
कन्दरा व्यान्डका गायक विवेक श्रेष्ठ सम्मानपत्र ग्रहण गर्दै
उक्त अबसरमा लोकप्रिय कलाकार ताराबहादुर गुरुङले राष्ट्रबादी गीतमा नृत्य प्रस्तुत गरेका थिए।
राष्ट्रवादी गीतमा नृत्य प्रस्तुत गर्दै बरिष्ठ कलाकार ताराबहादुर गुरुङ
आगामी चैत १५ गते आयोजना गरिने कार्यक्रममा लुम्ले कविता गाउँको विकासमा योगदान पु¥याउने साहित्यकारलाई पनि सम्मान गरिने आयोजकले जनाएका छन्।
‘कविता गाउँ’का परिकल्पनाकार विनोद गौचन
सरल भाषामा मन छुने गीत तथा कविता लेख्ने साहित्यकार हुन् विनोद गौचन। उनका दुई ओटा कवितासङ्ग्रह प्रकाशित छन्, ‘ढुङ्गेसाँघुको मेलामा’ र ‘पोखरामा फूल फुल्दैन’ ।
कालजयी गीतहरू अरुण थापाको स्वरमा रहेको ‘जति माया लाए पनि, जति कसम खाए पनि’, कन्दरा व्यान्डका विवेक श्रेष्ठले गाएको ‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले’ र ‘पानी माग्दा मही दिने चन्द्रकोटकी नानी’, दिलु गुरुङ र शितल थापाले गाएको ‘कस्तो ठाउँमा फुल्यौ तिमी, टिप्नै गाह्रो भो’का साथै ‘अन्नपूर्ण हिमालमुनि’, ‘पटक पटक मर्नुभन्दा’ लगायतका गीतहरूका रचनाकार हुन् उनी।

उनी पोखरा वरपरका गाउँघरहरू पञ्चासे, धम्पुस, लुम्ले, पोथानालगायत गाउँघरमा डुलिरहन्थे । कहिले साथीहरूसँग त कहिले एक्लै एक्लै । उनी साहित्य मार्फत् ग्रामीण पर्यटन प्रवद्र्धन अभियानमा सक्रिय थिए।
उनलाई लुम्ले असाध्यै मन पथ्र्यों। लुम्लेलाई साहित्यिक तीर्थ बनाउने उद्देश्यले उनकै परिकल्पना एवम् अगुवाइमा वि.सं. २०६५ चैत १५ गते कविता गाउँ घोषणा गरिएको थियो।

पर्यटनविद् झलक थापाको प्रमुख आतिथ्यमा भएको घोषणा सभामा मुलुकका स्थापित कवि, कलाकार र पत्रकारको जमघट थियो। त्यस यता निरन्तर लुम्लेमा साहित्यिक गतिविधि भइरहेका छन्।
पोखराको बागबजारमा वि.सं. २०१२ जेठ १३ गते जन्मेका गौचनको ५८ वर्षको उमेरमा वि.सं. २०७० पुस २० गते निधन भएको थियो।
बरिष्ठ पत्रकार रुपनारायण ढकाल सम्मानपत्र ग्रहण गर्दै
बरिष्ठ पत्रकार कृष्णमणि बराल सम्मानपत्र ग्रहण गर्दै
लुम्ले कविता गाउँका अगुवा भक्तिराम देवकोटा सम्मानपत्र ग्रहण गर्दै
लुम्ले कविता पार्कका जग्गादाता चिनबहादुर के.सी.
लुम्लेका तन्नेरी विवेक देवकोटा सम्मानपत्र ग्रहण गर्दै
समाजसेवी विश्वमोहन गौचन र लुम्लेका अगुवा गोलमान गुरुङ












