काठमाडौं
काठमाडौंको नयाँ बानेश्वरस्थित उमोजा कफीमा रसुवाको पर्यटकीय गाउँ गतलाङका महिलाहरुको जीवनसङ्घर्ष झल्काउने तस्बिरहरुको प्रदर्शनी ‘गतलाङका महिलाको कथा’ सोमबारबाट सुरु भएको छ। प्रदर्शनीमा वरिष्ठ फोटो पत्रकार केशवराज थोकरले खिचेका १६ ओटा तस्बिर राखिएका छन्।

काठमाडौंमा बसेर मजदुरी गर्दै आएकी गतलाङ गाउँकी महिला न्यान्जोम तामाङले फोटो प्रदर्शनी शुभारम्भ गरेकी हुन्। प्रदर्शनी बुधबारसम्म चल्ने छ।
प्रमुख अतिथि न्यान्जोम तामाङलाई मायाको चिनो प्रदान गर्दै आयोजक संस्थाका प्रमुख लिलाराम खड्का।
एक्सप्लोर नेपाल नेटवर्कको आयोजनामा भएको प्रदर्शनीको शुभारम्भ काठमाडौंमा बसेर मजदुरी गर्दै आएकी गतलाङ गाउँकी महिला न्यान्जोम तामाङले गरेकी हुन्। पछिल्लो ५ वर्षदेखि काठमाडौंमा बसेर एउटा कम्पनीमा काम गर्दै आएकी ३९ वर्षे तामाङ आफ्ना गाउँका तस्बिर देख्दा दंग परिन्। उनीसँगै उभिएकी अर्की महिला ल्हाक्पा छोमो तामाङ पनि भावुक बनेकी थिइन्।

थोकरका तस्बिरहरुमा ग्रामीण महिलाको दिनचर्या झल्काइएको छ। सूर्योदयदेखि सूर्यास्तसम्म उनीहरूको जीवनसङ्घर्ष चलिरहन्छ। विशेषतः महिलाहरूको मिहिनेत, इमान्दारी र मुस्कान प्रेरणादायी छ।

कार्यक्रममा आछोदिङ्मो गाउँपालिका रसुवाका अध्यक्ष बुचुङ तामाङले काठमाडौंमा गतलाङका तस्बिर देख्न पाउँदा गौरव लागेको बताए। ‘यस प्रदर्शनीले गतलाङको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने छ’, उनले भने, ‘यसैगरी हाम्रा गाउँघरका कथा उजागर हुनु आवश्यक छ।’
बुचुङ तामाङ, अध्यक्ष, आमाछोदिङ्मो गाउँपालिका
त्यसैगरि भाषा एवम् संस्कृतिविद् अमृत योञ्जन तामाङले तस्बिर अवलोकन गर्दा गतलाङमै पुगेको अनुभूति भएको सुनाए। उनले गतलाङ यात्राका अनुभव समेत बाँडे।
संस्कृतिविद अमृत योञ्जन तामाङ
अर्का वक्ता बरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्कीले थोकरका तस्बिर उत्कृष्ट भएको प्रतिक्रिया दिए। ‘यी तस्बिरहरुमा केशवको निकै मिहिनेत देखिन्छ’, उनले भने, ‘महिलाका सुख दुःखलाई तस्बिर मार्फत् सार्बजनिक गरेकामा उनलाई धेरैधेरै धन्यवाद ।’
वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्की
एउटा ससक्त फोटो पत्रकारका तस्बिर मार्फत् गतलाङ र काठमाडौं बीच एउटा सिर्जनात्मक पुल हाल्न प्रदर्शनी आयोजना गरिएको आयोजक संस्थाका प्रमुख लिलाराम खड्काले बताए।

प्रदर्शनी बुधबारसम्म चल्ने छ।
गतलाङ गाउँ
गतलाङ गाउँ रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका वडा नं. ३ मा पर्दछ। करिब ६ सय घरधुरी भएको गाउँमा तामाङ र दलित समुदायको बसोबास छ। कृषि, पशुपालन र पर्यटन नै गाउँलेहरूको बाँच्ने आधार हुन्।

बिहान–बेलुकीको खाना पकाउनेदेखि चांैरी, याक र भेडाबाख्राको रेखदेखसम्म, बालबालिकाको स्याहार सुसारदेखि खेतीबाली भित्र्याउनेसम्मका सबै काममा महिलाकै नेतृत्वदायी भूमिका देखिन्छ। त्यति मात्र होइन, याक तथा भेडाच्याङ्ग्राको ऊनबाट उनीहरू राडीपाखी पनि बनाउँछन्।

महिलाहरू करुणा, कला, साहस र मिहिनेतका प्रतिमूर्ति हुन्। गाउँलाई जीवन्त बनाउने श्रमजीवी हुन्। उनीहरूको दिनचर्या अध्ययन एवम् अनुसन्धान गर्दा धेरै कुरा सिक्न सकिन्छ। जीवनमा धैर्य, मिहिनेत र इमान्दारीको पाठ सिकिन्छ।

स्मरणीय छ, गतलाङ एउटा पर्यटकीय गाउँ हो । ‘रुबी भ्याली पदमार्ग’ को प्रवेशद्वार गतलाङ हो भने ‘तामाङ हेरिटेज टे«ल’ को पनि एउटा गन्तव्य । त्यसैले गतलाङ भ्रमण गरौं । ग्रामीण अर्थतन्त्रमा टेवा पुु¥याऔं ।
काठमाडौंबाट १५४ किलोमिटर दुरीमा पर्दछ गतलाङ । गाउँसम्मै सडक सञ्जाल जोडिएको छ । गतलाङका लागि काठमाडौंको माछापोखरीबाट नियमित सार्वजनिक बस छुट्छन् ।
पत्रकारको चिनारी
दोलखा जिल्लाको मेलुङ गाउँपालिका–४, भेडपु गाउँमा जन्मेहुर्केका केशवराज थोकर करिब दुई दशकदेखि फोटो पत्रकारितामा क्रियाशील छन्।

उनी कहिले राजनैतिक घटनाव्रmमका तस्बिर खिच्छन् त कहिले विपत्ति र महामारीका। अनि कहिले ग्रामीण जीवनैशली र संस्कृतिका।
उनको फोटो पत्रकारिता यात्रा ‘नेपाल समाचारपत्र’बाट सुरु भएको थियो। त्यहाँ दुई वर्ष काम गरेपछि उनले नागरिक दैनिकमा १३ वर्ष काम गरे। त्यसपछि ‘आयो मेल’ डिजिटल पत्रिकामा करिब एक वर्ष फोटो सम्पादकको भूमिका निर्वाह गरे। हिजोआज प्रिलान्सरका रुपमा सक्रिय छन्।
उनको एउटा फोटो बुुक प्रकाशित भएको छ, ‘लाइफ इन प्यान्डेमिक’। संसारलाई नै सताएको कोभिड–१९ को महामारीको प्रभावका विषयमा यसमा सचित्र वर्णन छ। पुस्तकमा त्यतिखेर शवहरू पशुपतिको खुला भूभागमा जलाएको, गभर्वती आइसोलेसनमा बसेको, अक्सिजन नपाएर अस्पताल बाहिर उपचार गराइरहेको, फ्रन्टलाइनहरू आदिको फोटोकथा छ।
समाजमा ओझेल परेका विषयलाई ‘फोटोकथा’ मार्फत् सार्वजनिक गर्दै जाने उनको योजना छ।
‘आवाजविहीनहरूको आवाजलाई भिज्युल स्टोरीमार्फत् सार्वजनिक गरिरहनेछु,’, उनी भन्छन्, ‘बाँचुन्जेल फोटोग्राफी छोड्दिनँ।’
