वीरगञ्ज
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपालको आर्थिक नगरी वीरगञ्जबाट ‘जाऔं है पोखरा’ अभियान शुुभारम्भ गरिएको छ। होटल संघ पोखराको अयोाजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा अभियान सञ्चालन गरिएको हो।
‘आन्तरिक पर्यटन प्रवद्र्धन नै दिगो पर्यटनको मूल आधार हो’ भन्ने मान्यता अनुरुप २५ वर्षअघि अभियान सुरु गरिएको थियो। वीरगञ्जपछि यसपाला विराटनगर, इलाम र हेटौंडा पुुगेर पोखरेलीले अभियानको निम्तो बाँड्दैछन्।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले अभियानको उद्घाटन गरेका थिए। सो अवसरमा उनले नयाँ बन्ने सरकारले पर्यटन नीति सुधार गरे देशले आर्थिक फड्को मार्न सक्ने बताए।
‘सिमा नाकामा भारतीय पर्यटकलाई तीन किलोमिटर दुरीमा सात ठाउँमा चेकिङ गर्ने गरिएको छ’, उनले असन्तुष्टि पोखे, ‘पुलिसले पैसा खान यस्तो गरेको हो।’
भारतीय पर्यटक नेपाली पर्यटनको आधार बन्न सक्ने बताउँदै उनले नेपालले पूर्वाधार विकासमा ध्यान दिनु पर्ने सुझाव राखे।
आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले माओवादी द्वन्द्व, भुकम्प, नाकाबन्दी, कोभिड र बैंकको चर्को ब्याजदेखि मध्यपूर्व तनावसम्म आइपुग्दा नेपाली पर्यटनले धेरै मार खेप्नु परेको बताए।
‘विगतमा सञ्चालन भएर बिचमा रोकिन पुगेको पोखरा–सिमरा हवाई उडान सेवा पुनः सञ्चालन गर्न माग गर्दछुु’, उनले भने।
मधेश प्रदेशका पूर्व मन्त्री ओमप्रकाश शर्माले पोखरा–सिमरा उडान रोकिनु दुःखद विषय भएको बताउँदै उडान सुरु गर्ने कार्यमा आफ्नो पनि भूमिका रहेको स्मरण गराए।
भारतीय र तराई मूलका पर्यटकलाई पोखरामा भेदभाव गर्ने गरिएको, फोहोर बढेको, कंक्रिटका घर बढ्दै गएको र फेवाको उचित संरक्षण नभएको भन्दै वीरगञ्जका व्यवसायीले चिन्ता व्यक्त गरे
‘यात्रु अभाव हुँदा जहाज कम्पनीलाई हुने घाटा ब्यहोरेर भए पनि सरकार र निजी क्षेत्र मिलेर फेरि उडान सुचारु गरिनु पर्छ’, उनले भने।
सुवेदीले पोखराको होटल क्षेत्रमा मात्र ६ खर्ब रुपैयाँ हाराहारी लगानी रहेको जानकारी दिंदै पोखरा पुग्ने पर्यटक मध्ये ४० प्रतिशत हिस्सा आन्तरिक पर्यटकको रहने गरेको जानकारी दिए।
कार्यक्रममा उनले यही चैत २९ देखि बैशाख १ गतेसम्म फेवातालको किनार लेकसाइडमा आयोजना हुने नयाँबर्ष महोत्सवमा सहभागिताका लागि पूर्वेलीलाई निम्तो बाँडे। महोत्सवका पाहुनालाई होटलमा २५ प्रतिशतसम्म छुट दिइने उनले घोषणा पनि गरे।

कार्यक्रममा व्यवसायीले भारतीय र तराई मूलका पर्यटकलाई पोखरामा भेदभाव गर्ने गरिएको, सिमा नाकामा भारतीय पर्यटकले हैरानी खेप्नु परेको, पोखराका ट्याक्सीले मनलाग्दी भाडा असुल्ने गरेको र पोखरामा भारतीय पर्यटकका सवारी सञ्चालनमा अवरोध सिर्जना गर्ने गरिएको गुनासो सुनाए।
भारतीय सवारीलाई सिमा नाकामा दिइने प्रज्ञापनपत्र अनलाइन मार्फत् दिन पनि उनीहरूले माग गरे। २५ हजार भारु भन्दा बढी रकम बोकी नेपाल आउने भारतीयलाई सिमानामा अझै पनि दुःख दिने गरिएको विषय पनि उठान गरिएको थियो।
पोखरामा फोहोर बढेको, कंक्रिटका घर बढ्दै गएको र फेवातालको उचित संरक्षण नभएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरे।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अनिलकुमार अग्रवाल, संघका बरिष्ठ उपाध्यक्ष माधव राजपाल, समाजसेवी एवम् उद्योगपति अशोककुमार बैद्य, टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने, पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारी, महासंघका मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा र पर्यटनकर्मी दीपक श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए।