काठमाडौं
टे«किङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान)ले कञ्चनजंघा पदमार्गका पर्यटनकर्मीलाई परिचयात्मक खोज तथा उद्दार तालिम दिएको छ। पर्यटकीय गन्तव्यलाई सुरक्षित बनाउन युएनडिपी र नेपाल पर्यटन बोर्डको संयुक्त परियोजना दिगो पर्यटन परियोजना (एसटिपी)को सहयोगमा १७ जनालाई तालिम दिइएको हो।

तालिममा स्थानीय पर्यटन व्यवसायी, पथ प्रदर्शक, सर्वसाधारण र सिमा सुरक्षा बलका सदस्यको सहभागिता थियो। उनीहरूलाई तीन दिनसम्म माउन्टेन गाइड एसोसियसन अफ नेपाल (मोगान)का अध्यक्ष संजिब गुरुङले व्याबहारिक तालिम दिएका थिए।

‘कुनै पनि पर्यटक समस्यामा परेका खण्डमा स्थानीयस्तरमा जो तुरुन्तै उपलब्ध हुन सक्छन्’, पर्वतीय पथप्रदर्शक प्रशिक्षक समेत रहेका अध्यक्ष गुरुङले भने, ‘तिनैले तुुरुन्तै आपत्कालीन उद्दार गरी पदयात्रीको जीवन रक्षा गर्न सकून भनेर हामीले जनशक्ति उत्पादन गरेका हौं।’

तालिमका सहभागिहरूलाई पर्वतीय प्रकोपहरू (बाढीपहिरो, हिमपहिरो, आँधीहुुरी आदि)को कसरी उत्पन्न हुन्छन् र तिनको कसरी समाधान गर्ने, घाइते तथा पहिरोमा परेकाहरूलाई कसरी उद्धार गर्ने ? प्राथमिक उपचार गरी तिनीहरूलाई सुुरक्षित ठाउँमा कसरी ल्याउने भन्ने लगायतका विषय सिकाइएको थियो।

कतिपय घटनास्थलमा प्राथमिक उपचारका आधारभूत सुविधा नहुन सक्छ, त्यस्तो बेला स्थानीय स्रोतसाधन सदुपयोग गरि काम गर्न पनि सिकाइयो। जस्तो कि बिरामी बोक्न व्यवस्थित स्ट्रेचर नभएको अबस्थामा काठ र तन्ना वा ट्रापलिन वा ज्याकेटबाट स्टे«चर बनाउने तरिका सिकाइयो। डोरीबाट स्टे«चर बनाई बोक्ने तरिका पनि प्रस्तुत गरिएको थियो।

उक्त तालिममा एक वा दुईजना मात्र सहयोगी हुँदा घाइतेलाई बोकेर ल्याउने तरिका पनि सिकाइएको गुरुङले बताए।
‘हामीले भिरमुनि रहेकालाई डोरीको सहायताले कसरी माथि तान्ने र माथिकालाई कसरी तल झार्ने भन्ने तरिका पनि सिकायौं’, उनले भने।

‘सर्च, रेस्क्यु र लाइफ सेभिङ कसरी गर्ने भनेर हामीले प्रारम्भिक तालिम आयोजना गरेका हौं’, टानका सिइओ रामचन्द्र सेढाईंले भने।
यसरी दिइएका तालिम व्यबहारिक रुपमा लागू भएपछि नेपाली पदमार्गहरू सुरक्षित बन्दै जाने विश्वास गरिएको छ।

सामागाउँ र खरिखोलामा पनि तालिम
टानले यो तालिम मनास्लु पदमार्गको सामागाउँ र सगरमाथा पदमार्गको खरिखोलामा पनि गराएको थियो। सामागाउँमा माउन्टेन गाइड लालबहादुर जिरेलले तालिम दिएका थिए भने खरिखोलामा आङ्गेली शेर्पाले। टानका सिइओ सेढाईंका अनुसार तीन ओटै ठाउँमा जम्मा ५३ जना सहभागि थिए।




