काठमाडौं
नेपालको पर्यटनमा नयाँ प्रोडक्ट थपिएको छ, माछा समात्ने खेल। समात्ने मात्र, मार्ने होइन। समात्ने, तस्बिर खिच्ने, मुस्कुराउने र ती माछालाई फेरि नदीमै छाड्ने। यसमै छ आनन्द। नेपालमा पनि भर्खरै एङ्लिङको सम्भावना उजागर गरिएको छ।

यही मार्च २२ देखि अप्रिल २ सम्म सेती र कर्णाली नदीमा आयोजित ‘सेती कर्णाली इन्टरनेसनल महासेर एङ्लिङ च्यालेन्ज’ले एङ्लिङको सम्भावना उजागर गरेको हो। नेपालमै पहिलो पटक आयोजित प्रतियोगितामा विभिन्न देशका २३ जना विदेशी सहभागि थिए।
धेरै माछा समातेर विजयी बनेका बेलायती नागरिक जोन विलियम टिल्ब्रक ।
डोटी जिल्लाको दिपालयस्थित सेती नदीदेखि कैलालीको ठुलीगाडस्थित कर्णाली नदीसम्म प्रतिस्पर्धा गरिएको छ। सबैभन्दा ठुला र धेरै माछा समात्नेलाई तीन विधामा पुरस्कृत गरिएको थियो। उनीहरूले सहर (गोल्डेन महासेर) ठेंड (गोंज) जातका माछा समातेका हुन्।

सबैभन्दा ठुलो सहर माछा नदेरल्यान्डका मिसेल डेकरले समातेका थिए, जुन ११७ सेन्टिमिटर लामो थियो। त्यसैगरि मिसेलकै छोरा नोहाले ११४ सेन्टिमिटर लामो माछा समातेर दोस्रो भए भने तेस्रो पुरस्कार जितेका थिए थाइल्यान्डका टप मेसोवान्ताले। उनले १०८ सेन्टिमिटर लामो माछा समातेका थिए।

यसैगरी सबैभन्दा ठुलो ठेंड माछा समातेर भारतका डेरेक डेसोजाले पहिलो पुुरस्कार जिते। उनले १०८ सेन्टिमिटर लामो ठेंड समातेका हुन्। दोस्रो ठुलो माछा समातेका थिए मलेसियाका क्रिस्टोफर टान सन् घि जसले १०२ सेन्टिमिटर लामो माछा समातेका थिए। त्यस्तै नेदरल्यान्डका जान क्रिस्टोफेल १०१ सेन्टिमिटर ठेंड समातेर तेस्रो बनेका थिए।

त्यस्तै धेरै सहर माछा समात्ने विधाका विजेता बने बेलायतका नागरिक जोन विलियम टिल्बर्क। उनीपछि थाइल्यान्डका टप मिसुवान्ता र तेस्रोमा बेलायतका रोजर जेम्स टिल्बर भएका थिए। उनीहरूले क्रमशः ६ ओटा, ४ ओटा र ३ ओटा माछा समातेका थिए।
सबैभन्दा ठुलो ठेंड माछा समातेर विजयी हुने भारतका डेरेक डेसोजा।
तीन ओटै विधाका प्रथम हुनेलाई ५० हजार नगदसहित ४ हजार ८ सय डलर बराबर १५ दिनको फिसिङ प्याकेज प्रदान गरियो। साथै माछा आकृतिको शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो। त्यस्तै दोस्रो हुनेलाई २ हजार ४ सय डलर बराबरको फिसिङ प्याकेज र प्रमाणपत्र दिइयो। र, तेस्रो हुनेलाई १ हजार दुई सय डलर बराबरको फिसिङ प्याकेज र प्रमाणपत्र प्रदान गरिएको थियो।


प्रतियोगितामा बेलायतका ९ जना, नेदरल्यान्डका ६ जना, भारतका ३ जना, मलेसियाका २ जना, जापानका १ जना, फिनल्यान्डका १ जना, थाइल्यान्डका १ जना र नेपालका ३ जना सहभागि थिए। यसरी २३ जना विदेशीले प्रतियोगितामा भाग लिएका थिए भने नेपाली विद्यार्थीले अध्ययन गरेका हुन्।

विजेताहरूलाई अप्रिल १ को बेलुुकी बर्दियामा पुरस्कार प्रदान गरिएको थियो। ठाकुुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उनीसहित नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशी, पर्यटनकर्मी मोहन थारु, बोगटान फुडसिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्शिला र बोर्डका बरिष्ठ प्रबन्धक खड्ग बिक्रम शाहले सम्बोधन गरेका थिए। कार्यक्रममा प्रशिक्षार्थीका तर्फबाट बेलायतका डा. एड्रिन क्लिफ र भारतका डेरेक डेसोजाले अनुुभव सुनाएका थिए।

डोटी जिल्लाको बोगटान फुडसिल गाउँपालिका प्रतियोगिताको आयोजक थियो भने सहआयोजकमा सुुदूूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय। नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको थियो। होटल पार्टनरमा एलफ्ट काठमाडौं र हवाई पार्टनरमा बुुद्ध एयरलाइन्स थियो। त्यसैगरि अन्य सहयोगीहरूमा कर्णाली प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, बर्दियाको ठाकुुरबाबा नगरपालिका, कैलालीको मोहन्याल गाउँपालिका, सुर्खेतको चौकुुने गाउँपालिका थिए। त्यस्तै अन्य सहयोगीहरूमा कर्णाली राफ्टिङ एन्ड एडभेन्चर प्रालि, मकालुु इ टे«डर्स, काठमाडौं, होटल हाना, काठमाडौं, सालिनी वाटिका एन्ड इको रिसोर्ट गोदावरी, कैलाली, होटल रिभरसाइड, दिपायल, बबई रिसोर्ट बर्दिया, किसान बहुुउद्धेश्यीय संस्था, लम्की, वर्षा होटल दिपायल र खप्तड एड्भेन्चर टुर्स थिए।
सबैभन्दा कान्छो प्रतियोगि नेदरल्यान्डका १९ वर्षे नोहा डेकर जो ठुलो सहर माछा समात्ने प्रतियोगितामा दोस्रो भए।

नेपाली पर्यटनमा नयाँ आयाम
देवराज जैसी, संयोजक, सेती–कर्णाली इन्टरनेसनल महासेर एङ्लिङ च्यालेन्ज
लामो समय भएका खर्चालु पर्यटक एङ्लिङमा रमाउँछन्। यस प्रतियोगिताले नेपाल पनि एङ्लिङका लागि उपयुुक्त गन्तव्य भएको सन्देश दिएको छ। हाम्रा लागि एङ्लिङ टुरिजम नयाँ विधा हो। साहसिक खेल प्रवद्र्धन गर्दै नदी र जलचर संरक्षणको सन्देश पनि दिएको छ। यसको भविश्य उज्यालो छ।
सम्पर्क : ९८५८०५३८९९



