काठमाडौं
बुद्ध पूर्णिमाको अबसरमा बौद्ध दर्शनका विश्व विख्यात विद्ववान श्याल्पा तेन्जिन रिम्पोछेको आब्हानमा ‘शान्तिका लागि साइकल यात्रा’ आयोजना हुँदैछ। वैशाख १५ गते काठमाडौंबाट सुरु हुने पाँच दिने यात्रामा १०८ ओटा साइकलको सहभागिता रहनेछ। उनीहरू २५७० औं बुुद्ध पूर्णिमाका दिन लुुम्बिनी पुुग्नेछन्। त्यो दिन लुम्बिनी दर्शन गर्नुका साथै साँझ विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन तथा ध्यानमा सहभागि हुनेछन्।

यात्राको पाँचौं दिन ध्यानपछि रिम्पोछेको पुस्तक लोकार्पण गरेर उनीहरू काठमाडौं फर्कनेछन्। यात्राका प्राविधिक संयोजक देवेन्द्र बस्न्यातका अनुसार काठमाडौंको स्वयम्भूबाट सुरु हुने पहिलो दिनको यात्रा चित्लाङ, दामन, सिमभन्ज्याङ भएर हेटौंडा पुग्नेछ। यसरी उनीहरू करिब सय किलोमिटर दुरी तय गरेर हेटौंडामा बस्नेछन्।
यात्राको दोस्रो दिन हेटौंडाबाट नारायणघाट हुँदै नवलपरासीको पिप्रहर थारु सामुदायिक होमस्टेमा पुुग्नेछन्। दोस्रो दिन पनि करिब सय किलोमिटर यात्रा हुनेछ। तेस्रो दिन उनीहरू पिप्रहरबाट दाउन्ने, बर्दघाट भएर करिब सय किलोमिटर साइकल चलाएर वुटवल पुग्नेछन्। यो दिन उनीहरूको बास वुटवलमै हुनेछ।
यात्राको चौंथो दिन बुटवलबाट सैनामैना हुँदै उनीहरू लुम्बिनी पुग्नेछन्। संयोजक बस्न्यातका अनुसार आवश्यकता अनुसार साइक्लिङ रुट सामान्य परिवर्तन हुन सक्नेछ। लुम्बिनीबाट पाँचौं दिन गाडीमा फर्कनेछन्।
यस कार्यक्रममा सहभागि हुन् अनलाइन फर्म भर्नुु पर्दछ। साथै रजिस्टे«सन शुल्क पनि तिर्नु पर्दछ। काठमाडौं, हेटौंडा, चितवन, रजहर र वुटवलबाट सहभागि हुनेले क्रमशः ५५ सय, ४५ सय, ४५ सय, ३५ सय र १५ सय रुपैयाँ तिर्नु पर्दछ। यसमा जर्सी, खाना र बसोबास सुविधा हुनेछ। साथै सामान्य मेकानिकल र मेडिकल सपोर्ट पनि दिइनेछ। साथै काठमाडौं फर्कने यातायात सुविधा पनि हुनेछ।
अनलाइन फर्म भर्ने लिङ्क :
https://forms.gle/yTLNbr79xHgFsA1t8
को हुन् श्याल्पा तेन्जिन रिम्पोछे ?
श्याल्पा तेन्जिन रिम्पोछे बौद्ध दर्शनका विद्ववान हुन्। उनी नेपालमा मात्र होइन, युरोप, अमेरिकालगायत धेरै मुलुकमा प्रख्यात छन्। उनले विगत चार दशक भन्दा लामो समयदेखि विश्वमा शान्तिको सन्देश र वौद्ध शिक्षा फैलाउन योगदान पु¥याउँदै आएका छन्। उनले संयुक्त राष्ट्र संघीय महासभा, ‘वल्र्ड इकोनोमिक फोरम’ लगायतमा भगवान बुद्ध, लुम्बिनी र नेपालको गरिमा बढाउन योगदान पु¥याउँदै आएका छन्।

आनन्दित रहन प्रेरित गर्ने उनको पुुस्तक ‘प्रत्यक श्वासमा आनन्दः पूर्णताको जीवन’ नेपाली र अङ्ग्रेजी भाषामा प्रकाशित छ। यो पुस्तक विदेशमा समेत लोकप्रिय छ। अङ्ग्रेजी भाषामा लेखिएको उनको पुुस्तक ‘पाथ टु पर्फेक्ट फ्रिडम’को नेपाली अनुवाद ‘पूर्ण मुक्तिको मार्ग’ लुम्बिनीमा लोकार्पण हुँदैछ।
पछिल्लो समय उनी विश्वमा १०८ ओटा ‘युनिभर्सल पिस स्याङ्चुरी’ निर्माण अभियानमा होमिएका छन्। त्यसको केन्द्र भगवान बुुद्धको जन्मथलो लुम्बिनीलाई बनाउने तयारीस्वरुप काम अघि बढाइसकेका छन्। लुम्बिनीमा कमलको फूल आकारमा विशाल गुम्बा बनाउने काम सुरु भइसकेको छ।

साइकलेका लागि अबसर
देवेन्द्र बस्न्यात, प्राविधिक संयोजक, ‘शान्तिका लागि साइकल यात्रा’
अहिले फेरि विश्व युुद्ध होला भनेर संसार त्रसित छ। इरान, अमेरिका र इजरायलको युुद्धका कारण हाम्रो दैनिकी कष्टकर भइसक्यो। जुनसुकै धर्म, संस्कृति, भाषाभाषी र विभिन्न भूगोलमा बसेका समुदायले शान्ति खोजेका छन्। विश्व शान्तिको मुहान लुम्बिनी हो। शान्ति तथा अहिंसाका प्रर्वतक गौतम बुुद्धको जन्मथलो हाम्रै लुम्बिनी हो। त्यसैले उहाँ जन्मैकै तिथिमा त्यहाँ पुुगेर हामी विश्व शान्तिको कामना गर्दैछौं। अहिलेको संकटका बेलामा लुम्बिनीमा पुगेर शान्तिको कामना गर्नु हामी सबैको दायित्व हो। त्यसैले आदरणीय रिम्पोछेज्यूको आब्हानमा भएको ‘शान्तिका लागि साइकल यात्रा’ अभियानमा सहभागिता जनाउन सबै साइक्लिस्ट मित्रहरूलाई अनुरोध गर्दछु। साइक्लिस्ट जजसले आफ्नो पसिना बगाउँछन्, शान्तिका लागि त्यो योगदान अतुलनीय छ।