काठमाडौं। बुद्ध एयरले नेपालगञ्जबाट मानसरोबार माउन्टेन फ्लाइट शुरु गर्ने भएको छ।
माउन्टेन फ्लाइटका लागि नाट्टा बाँके र बुद्ध एयर नेपालगञ्जबीच सम्झौता भएसँगै माघ १६ गतेबाट बुद्धले माउन्टेन फ्लाइट शुरु गर्ने भएको हो।
९० मिनेटको सो माउन्टेन फ्लाइटका क्रममा कैलाश मानसरोवरसँगै रारा ताल र शे– फोक्सुन्डो ताल पनि अवलोकन गराइनेछ।
यसअघि भारतीय पर्यटक मानसरोवर पुग्न काठमाडौँ आएपछि नेपालगञ्जमा पुगेर हुम्ला सिमकोटमा पुग्नुपर्छ। त्यहाँबाट हिँड्दै वा हेलिकोप्टर चार्टर गरेर मानसरोवर जानुपर्ने बाध्यता थियो।
बुद्धले माउन्टेन फ्लाइट शुरु गर्ने भएसँगै अब मानसरोवर दर्शन गर्न चाहाने पर्यटकहरूलाई सहज हुने विश्वास गरिएको छ।
पहिलो चरणमा नेपालगञ्जमा माघ १४ गतेदेखि शुरु हुन गइरहेको दोस्रो वेष्टर्न ट्राभल मार्टमामा भाग लिन पुगेका ७५ भारतीय टूर अपरेटरहरूलाई कैलाश मानसरोवर दर्शन गराएर सो माउन्टेन फ्लाइटको शुभारम्भ गरिने भएको छ। त्यसपछि हप्तैपिच्छे वा अफर आएको बेलामा नेपालगञ्जबाट जहाजमा कैलाश मानसरोवर दर्शन गराउन माउन्टेन फ्लाइट जारी नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताए।
पश्चिम नेपालको पर्यटन क्षेत्रलाई यस फ्लाइटबाट थप टेवा पुग्ने पर्यटन व्यवसायीहरूले विश्वास व्यक्त गरेका छन्।