जिरी। दोलखाको जिरी बजारदेखि तीन किलोमिटर दूरीमा हरियाली सल्लाघारीको बिचमा अवस्थित जिरेश्वर महादेव मन्दिर, प्राकृतिक शान्ति र धार्मिक आस्थाको संगम बनेको छ।
विशाल ओढारभित्रको शिवालय, सलल बग्ने खोला, चियाबगान र सानो झरनाले यहाँको सौन्दर्यलाई झन् मोहक बनाएको छ। बिहानै चराचुरूंगीको आवाजसँगै सल्लाघारीको बाटो हुँदै जिरेश्वर पुग्ने यात्रा आफैंमा एक आध्यात्मिक अनुभव हो।

जनविश्वास
परापूर्वकालमा एक जना किसानले धेरै गाई पालेका थिए रे। दिनमा गाई चरनमा जाँदारहेछन्। बेलुकी सबै गाई आफैं गोठमा फर्किदारहेछन्। तर एउटा गाई सधैं ढिला आउने र दूध पनि नदिने रहेछ।
अनि किसानले किन दूध दिँदैन भनेर एक दिन त्यहीँ गाईलाई पछ्याउँदै जाँदा त्यहाँ ओढारमा गाई गएर त्यहाँको कुण्डमा दूध चढाएको देखेपछि वरिपरि उत्खनन गर्दा महादेव प्रकट भएको जनविश्वास रहेको छ।

त्यसपन्छी कृषकले त्यहाँ गएर पूजा गर्दा बालीनाली एकदम राम्रो हुने र पशुपंक्षी पाल्दा फलिफाप हुने विश्वास छ। पानी नपरेर खडेरी लाग्ना लाग्दा यस जिरेश्वर महादेवमा दूध चढाएर पूजापाठ गर्दा पानी पर्ने जनविश्वास छ।
त्यस्तै मनोकांक्षा पूरा हुने विश्वासमा दैनिक कयौं दर्शनार्थी दर्शन गर्न जिरेश्वर पुग्छन्। शिवरात्री, तीज, एकादशी, औंशी, कृष्ण अष्टमी जस्ता चाडपर्वमा मेला लाग्दै आएको छ।









