काठमाडौँ। सरकारले नागरिक उड्डयन क्षेत्रको कानुनी पुनर्संरचना गर्दै हवाई सेवा सुरक्षित, सुलभ र प्रभावकारी बनाउने नीति अघि सारेको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा वाचन गरेका नीति तथा कार्यक्रममा यसबारे स्पष्ट रूपमा उल्लेख गरिएको छ।
राष्ट्रपतिले नेपाल हवाई सेवा प्राधिकरणको स्थापना तथा नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेका दुई विधेयक यही संसद् अधिवेशनबाट पारित गरिने जानकारी दिएका छन्।
त्यस्तै नेपाल वायुसेवा निगमको पुनर्संरचना गरी राष्ट्रिय ध्वजावाहकको सेवा सुधार गर्ने नीति पनि समावेश गरिएको छ। हवाई पूर्वाधार निर्माण, सेवा विस्तारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्दै आर्थिक, व्यावसायिक र वातावरणीय सम्भाव्यताका आधारमा विमानस्थलहरू निर्माण र स्तरोन्नति गरिनेछ।
सरकारले पर्यटन क्षेत्रलाई समेत उच्च प्राथमिकतामा राख्दै नेपालको पहिचानलाई ‘प्राकृतिक, सांस्कृतिक, साहसिक र चलचित्र पर्यटन’को सुरक्षित तथा आकर्षक गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारेको छ। योग/ध्यान केन्द्रित आरोग्य पर्यटन प्रवर्द्धन गर्दै नेपाललाई ध्यान पर्यटनको केन्द्र बनाउने लक्ष्य पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
दिगो र प्रविधिमैत्री पर्यटन नीति अवलम्बन गर्दै सार्वजनिक–निजी साझेदारीमा स्थानीय समुदायमा प्रत्यक्ष लाभ पुर्याउने र मौलिक तथा नवप्रवर्तनयुक्त पूर्वाधार विकासलाई प्रोत्साहन गर्ने सरकारको योजना छ। साथै, ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्त्वका क्षेत्रलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रयासलाई तीव्रता दिने नीति पनि सरकारले लिएको छ।