महेन्द्रनगर। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सुदूरपश्चिमको पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न नीति, भौतिक संरचना र व्यवहारमा सुधार अत्यावश्यक रहेको बताएका छन्।
कञ्चनपुरको महेन्द्रनगरमा आयोजित फारवेस्ट ट्राभल मार्टको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सीमित बजेटका बाबजुद सरकारले पर्यटन प्रवर्द्धनमा गम्भीरता देखाइरहेको स्पष्ट पारे। ‘२० प्रतिशत पुँजीगत बजेट घट्दा पनि हामी नीतिगत सुधारमा केन्द्रित भएका छौं,’ मन्त्री पाण्डेले भने।
पर्यटन विकासमा प्रवृत्ति सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले विदेशी पर्यटकहरू आउने र पुनः फर्कने वातावरण बनाउन सरकार लागिपरेको बताए। मन्त्रालयको समन्वय मात्र होइन, वन, गृह, परराष्ट्र र उद्योग मन्त्रालयसँगको सहकार्यसमेत आवश्यक रहेको उनको भनाइ थियो।
मन्त्री पाण्डेले सुदूरपश्चिममा पूर्व र मध्य नेपालको जस्तो पर्यटकीय चहलपहल नदेखिएको स्वीकार गर्दै सगरमाथा, पोखरा, मुक्तिनाथ, चितवन र बर्दियाजस्तै सुदूरपश्चिमलाई पनि चलायमान बनाउनुपर्नेमा जोड दिए। उनले मझगाउँ विमानस्थल निर्माण, धनगढी विमानस्थल स्तरोन्नति र पोखराबाट सातै प्रदेशमा नियमित उडानको तयारी भइरहेको जानकारी दिए।
‘कनेक्टिभिटी भयो भने पर्यटन आफैँ चलायमान हुन्छ भन्ने हाम्रो विश्वास हो,’ उनले भने। साथै, निजी क्षेत्रको भूमिकालाई स्वागतयोग्य बताउँदै मन्त्रीले राज्यले अनुगमन र निगरानी पनि जिम्मेवारीपूर्वक गर्नुपर्ने धारणा राखे।
पर्यटनमा विदेशी लगानी भित्र्याउन कानुनी सुधार र लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै मन्त्री पाण्डेले भारतसँगको धार्मिक-सांस्कृतिक सम्बन्धलाई सदुपयोग गर्दै भारतीय पर्यटक तान्नुपर्ने उल्लेख गरे।
अन्त्यमा उनले ‘अतिथि देव भवः’ संस्कारलाई व्यवहारमा लागू गर्ने आवश्यकतामा जोड दिँदै भौतिक मात्र होइन, व्यवहारिक सुधार पनि पर्यटन विकासका लागि अपरिहार्य रहेको बताए।