रुपन्देही। लुम्बिनी विकास कोषको आयोजनामा २५६९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस– २०८२ को विशेष समारोह सोमबार लुम्बिनीमा हुँदैछ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
लुम्बिनी विकास कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले एक विज्ञप्तिमार्फत कार्यक्रमको जानकारी दिँदै सबैलाई समारोहमा उपस्थितिका लागि सादर निमन्त्रणा गरेका छन्।

विशेष समारोह लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्र, लुम्बिनी साँस्कृतिक केन्द्रमा बिहान ९ बजे सुरू हुनेछ। कार्यक्रम नेपाली संवत् ११४५ वछलाथ्व पुन्हिको अवसरमा आयोजना गरिनेछ।
उक्त समारोहमा विभिन्न देशका बौद्ध धर्मावलम्बी, कूटनीतिक नियोगका प्रतिनिधि, बौद्ध संघसंस्थाका पदाधिकारी तथा बुद्ध जयन्तीमा श्रद्धा राख्ने भक्तजनहरूको सहभागिता रहनेछन्।
तस्बिरः लुम्बिनी विकास कोष
कार्यक्रमहरू यसप्रकार रहेका छन्:
धार्मिक गतिविधिहरू
बिहान ६:००–७:००: मायादेवी मन्दिर परिसरमा महायान, बज्रयान तथा थेरवाद परम्पराका गुरु, भिक्षु, भिक्षुणी, लामा तथा आनीहरूबाट पूजा, संघ दान।
बिहान ७:००–८:३०: मायादेवी मन्दिरदेखि केन्द्रिय नहर हुँदै कार्यक्रमस्थलसम्म शोभायात्रा।
बिहान ८:३०: शोभायात्रा पश्चात सहभागीहरूलाई प्रसाद वितरण तथा झाँकी प्रदर्शन।
औपचारिक कार्यक्रम (बिहान ९:००–११:००)
सभापति: माननीय बद्री प्रसाद पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा अध्यक्ष, लुम्बिनी विकास कोष
प्रमुख अतिथि: सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली
विशिष्ट अतिथि: मुख्यमन्त्री लुम्बिनी प्रदेश, मन्त्रीहरू, सांसदहरू, रिन्पोछे, सचिवहरू, राजदूत तथा अन्य कूटनीतिक नियोग, स्थानीय सरकार, राजनीतिक दल, संचारकर्मी लगायत आमन्त्रित अतिथिहरू।
कार्यक्रम बिन्दुहरू:
०९:१५ – सामूहिक राष्ट्रिय गान
०९:२० – थेरवाद, महायान र बज्रयान समुदायबाट शान्तिप्रार्थना
०९:३० – स्वागत मन्तव्य: डा. श्री ल्यारक्याल लामा, उपाध्यक्ष, लुम्बिनी विकास कोष
०९:४० – दीप प्रज्वलन गरी औपचारिक उद्घाटन प्रधानमन्त्रीज्यूबाट
०९:५० – सांगीतिक प्रस्तुति: सुरसुधा समूह
१०:०० – शुभकामना मन्तव्य (UNDP, थाइल्याण्ड, चीन, भारतका राजदूत तथा मुख्यमन्त्री)
१०:३० – प्रमुख अतिथिज्यूको सम्बोधन
१०:५० – सभापतिज्यूको मन्तव्य, धन्यवाद ज्ञापन र सभा विसर्जन
भोजन तथा अन्य कार्यक्रमहरू
११:००: विशिष्ट पाहुनाहरूको दिवा भोजन तथा भिक्षु/भिक्षुणी/लामाहरूलगायतका अतिथिहरूका लागि भोजन तथा प्याकेट वितरण
दिनभरि: मायादेवी मन्दिर परिसरमा अहोरात्र परित्राण, ज्ञानमाला भजन तथा साँझ ७ बजे दीपावली कार्यक्रम।