मकालु पदयात्रा- ३
याङ्लेबाट बेसक्याम्प जाने बाटो सजिलो छ। उकालो छैन। तर, ३५ सय मिटरबाट ५ हजार मिटर उचाइमा पुर्याउने बाटो धेरै उकालो हुनु पर्दैन- तेर्प्याइलो तेर्प्याइलो भए पुग्छ।
अझ तीन दिन कस्सिएर गोर्खे हिँडाइ हिँडेको ज्यानलाई यो उचाइ भए अरू के चाहिन्छ र?
चौथो दिन हामी याङलेबाट उकालो लाग्यौं। उकालो उस्तो उकालो होइन, तेर्पायाइलो। कतै कतै चाहिँ ठाडो उकालो।
खुसीको कुरा के भने आज पनि हामी ठिक ७ बजे यात्रा थाल्न सफल भयौं। दोस्रो दिनबाहेक यो राम्रो कुरा भइरहेको छ। यसैपनि यताको बाटोमा हिउँ छैन, बेलुकी उज्यालैमा पुगियोस् भन्नेमात्रै हो। खासमा यहाँबाट बेसक्याम्प दुई दिनको हिँडाइ हो। यदयात्रीहरू यहाँबाट याङमाले गएर बस्छन्, अनि भोलिपल्ट मात्रै बेसक्याम्प जान्छन्।
-1747481300.jpg)
हामीलाई यो लक्जरी छैन। टकटकिँदो खल्तीले सावधानी गराइरहेको छ।
नभनौं भन्दा पनि सकिनँ। बिहान निकिनलाई क्यास नपुग्ला जस्तो छ भनेँ। उसले पनि यही सोचिरहेको रहेछ। हामीसँग अब पाँच हजार जति मात्रै बाँकी थियो। यतिले त बेसक्याम्प पुगेर यहाँसम्म फर्किन दु:खले सकिएला भन्ने छ। त्यसपछि के गर्ने?
चियामा खर्च नगरौं अनि लन्च छोडौं। बिहान ब्रेकफास्टपछि सिंधै डिनर।
निकिनको आइडियो थियो यो।
मलाई नरमाइलो लाग्यो। परदेशदेखि आएको साथी, भोकै के हिँडाउनु!
अरू कुनै उपाय आइरहेको थिएन तर दिमागमा यत्तिकै हिम्मत आयो- केही न केही उपाय हुन्छ भन्ने। तर, त्यो उपाय के हुनसक्छ भन्ने चाहिँ दिमागमा आएको थिएन।
‘नो ब्रो! आइ डन्ट वान्ट यु टु वाक हङग्री!’ मैले भनेँ, ‘वी विल ह्याभ प्रोपर ब्रेकफास्ट, लन्च एन्ड डिनर, एन्ड टी। रेस्ट, आइ विल सी।’
उसलाई कन्भिन्स गराएँ। हाम्रो त चियामै पनि टन्नै खर्च हुने। बाटोमा हिँड्दा जति बिसाउने ठाउँ भेटिन्छ, सबैमा चिया खाँदै हिँड्न मन लाग्छ। चियाको बहानामा एकछिन रेस्ट पनि हुन्छ।
-1747481310.jpg)
आजको बाटोमा भने चिया खाने धेरै ठाउँ छैन भन्ने थाहा भइसकेको थियो। यहाँबाट याङमाले, याङमालेबाट सिंधै बेसक्याम्प।
याङ्लेबाट निस्किएपछि एक दुई घण्टा त हिँड्न रमाइलै भयो। बाटो कतै कतै हल्का उकालो, कतै तेर्सो। वरूण खोलाको किनारै किनारै। वरूण ओरालो बग्दै थियो, हामी माथितिर जाँदै थियौं।
अलि अगाडि पुग्ने बित्तिकै शिवधारा जाने बाटो भेटियो।
सुजन पोहोर साल यही ट्रेक आएको थियो। उसको सुझाव थियो- शिवधारा चाहिँ जसरी भए पनि जानु। इन्सुहाङको पनि यही सुझाव थियो- शिवधारा नछुटाउनु। अब यस्तो अवस्थामा शिवधारा कसरी जानु? शिवधारा जानु भनेको एकदिन थप याङ्ले मै बस्नु हो। अर्थात्, दुई तीन हजार खर्च थपिनु हो।
साँझ सोधेको पनि हो, कसरी जाने भनेर। स्थानीयले अहिलेसम्म बाटो नखुलेको बताए।
शिवधारा जाने बाटो चट्टानको बीचबाट रहेछ। त्यहाँ हिउँ जमेका कारण हिँड्न सक्ने अवस्था छैन भन्ने थाहा भयो। जाने भनेर गएका केही मान्छे बाटैबाट फर्किए भन्ने भयो। यति भएपछि निकिनलाई पनि पुग्यो। मलाई पनि मन बुझाउने बाटो भयो। सहज अवस्थामा भएको भए एकपटक प्रयास गर्ने थियौं होला।
मित्र इन्सुहाङले पठाएको म्यासेजमा ‘आमाछोरा पहाडका याद गर्नु’ भन्ने थियो। वरूणपारि एउटा दुईतले जस्तो ठूलो चट्टानी पहाड रहेछ, जसमा पेट बोकेकी महिलाको स्वरूप थियो। यसलाई किन आमाछोरा पहाड भनियो। कसैलाई सोधौंला भन्दै थिएँ, बिर्सिएँछु।
हिँड्दै गएपछि उचाइ बढ्दै गयो। उचाइ बढ्दै गएपछि सास बढ्दै गयो। सास बढ्दै गएपछि हिँड्न गाह्रो हुँदै गयो। त्यसमाथि भोक पनि लाग्यो।
हामीले बोकेको बिस्कुट सकिसकेको रहेछ। म चाउचाउ बोक्दिनँ। बाँकी केही काजु र किसमिस, अनि केही चकलेट थिए।
एउटा चकलेट निकालेर टोक्न थालेँ। चकलेटमा चीन हुन्छ, चीनीले शक्ति दिन्छ- इन्स्ट्यान्ट इनर्जी। यसरी शारीरिक श्रम गरे चीन पच्छ, सताउने त श्रम नगर्नेलाई हो।
एकछिनमा चकलेटले पनि धान्न छोड्यो। त्यहिँमाथि ठाडो उकालो आयो। हामी हिँडिरहेको ठाउँ हिमनदीको पुछार जस्तो थियो। एउटा कुनामा वरूण बटारिँदै फाल हानिरहेको थियो। अर्को कुनामा म सकिनसकी उक्लिरहेको थिएँ।
-1747481293.jpg)
निकिन निकै अगाडि पुगेर कतै मलाई पर्खिरहेको होला। मेरो पछाडिबाट भारतीय सेनाका पर्वतरोहीहरूको समूह अगाडि लाग्यो। उनीहरूसँग याङ्लेमा हिजै भेट भएको थियो।
याङ्लेमा बास बस्ने होटल एउटै मात्र हो, त्यही भेट भएको थियो। छ जनामध्ये एक जना केरलाको रहेछ। निकिनले घरकै मान्छे भेटेजस्तो भयो। राति अबेरसम्म ऊ मलायलीमा बात मारिरहेको थियो। यहीँ चार-पाँज जना युरोपेली ठिटाहरू पनि थिए, जो माथिबाट फर्किँदै थिए। उनीहरू राति डाइनिङ रूममा ‘बम्फी, बम्फी’ भन्दै तास खेलिरहेका थिए।
भारतीय सेनाको टुकडी मभन्दा अगाडि लाग्यो । उनीहरूको आजको गन्तव्य यहीँ याङमाले हो, हामीलाई त्यहाँ आधाबाटो मात्रै हुन्छ।
याङमाले यहिँ अगाडि देखिइरहेको छ। साढे १२ बजेतिर मोबाइलमा समय हेरेँ, भोक नापेँ अनि सोचेँ, अब एक घण्टा लाग्छ होला। सामान्य उचाइमा यो लगभग १० देखि १५ मिनेको उकालो थियो।
१ बजे याङमाले पुगियो।
याङमालेमा दुईटा होटल खुला थियो। हामीले पहिले भेटेकै होटलमा खाना खायौं र तीन बजेतिर त्यहाँबाट अघि बढ्यौं।
-1747481313.jpg)
हामी याङमालेबाट हिँड्नु र हिउँ पर्न थाल्नु सँगसँगै भयो। कुहिरोले केही नदेखिने भएको थियो। पैसा नसकिने भए आज यतै बस्नु ठिक हुन्थ्यो। तर, हामीलाई आज जसरी पनि बेसक्याम्प पुग्नु छ। हामी कुहिरो पन्छाउँदै बाटो खोज्दै हिँड्न थाल्यौं।
हल्का उकालोजस्तो बाटो सिधै पूर्वउत्तर हिँड्नु पर्ने रहेछ। यहाँबाट दुई घण्टा हिँडेपछि सेरसोङ पुगियो। यहाँ एउटा घर त थियो तर कोही मान्छे थिएन। आसपास कहीँकतै चरोमुसो केही थिएन।
मित्र इन्सुहाङले फोनमा सेरसोङबाट देखिने दृश्यको तारिफ मात्रै गरेका थिएनन्, भ्यूप्वाइन्ट चढे सगरमाथासम्मको दृश्य देखिने लोभ देखाएका थिए। यता हामीले कुहिरो सागर देखिरहेका थियौं। सर्वत्र श्वेतावरण।
उचाइ बढ्दै गएपछि मेरो सास निकै तेज र छोटो भएको थियो। त्यसैले म सकेसम्म निकै बिस्तारै हिँडिरहेको थिएँ। याङमालेबाट हिउँले लेखेट्दै थियो तर भेटिहालेको थिएन। यस्तो लाग्दै थियो हिउँ पनि बिस्तारै हाम्रै पछिपछि बेसक्याम्प आउँदैछ। हिउँपर्नुभन्दा एकैछिन अगाडि हावा न्यानो हुन्छ, हामी ठिक यही हावामा हिँडिरहेका थियौं। हिँड्दा-हिँड्दा थाकेर बिसाउन मन लाग्थ्यो- तर चिसो स्याँठले हान्न थालिहाल्थ्यो। अलिअलि हिउँ फुसफुस लुगामा झर्न पनि थाल्थ्यो। हामी कतै पनि नबिसाइ निरन्तर हिँडिरहेका थियौं।
लगभग साँझको ६ बजेतिरको कुरा हो, एक ठाउँबाट बाटो अलि उकालो लाग्यो। हामी सकिनसकी उक्लियौं। उक्लिएर हेर्दा तल वरूण किनारमा रातो टिनको छानो देखियो।
छेउमा अरू केही छाना देखिए।
‘वाउ बेसक्याम्प !’
यसपटक म कराएको थिएँ।
बेसक्याम्पबाट अगाडि हिँड्दै थियौं। अचानक हावाले कुहिरो उडाएर कतै लग्यो। अनि मकालुको दाहिने काँध हल्का खुल्यो। साँझको घाममा मकालुले सुन ओडिराखेको थियो।
‘मकालु, मकालु!’
चौथो दिनमा ४ हजारमिटर माथि झन्डै १२ घण्टा हिँडेर थाकेको निकिनको अनुहार एकैपटक खुसीले धप्प बल्यो।
यसपछि सुरू भयो, मकालुको जादु। हावा मकालुसँग जिस्किरहेको थियो वा हामीसँग, थाहा भएन। हिमालको बिचभागबाट थोरै कुहिरो हटाइदिन्थ्यो र हामीलाई मकालुको सानो हिस्सा देखाउँथ्यो। घरी दायाँ, घरी बायाँ, घरी बीचमा, घरी अलि तल, घरी शिखरमा। मकालुले हामीलाई यसरी मुस्कान दिइरहेको थियो, मानौं घुम्टो ओडेर जग्गेमा बसेकी बेहुली थोरैथोरै घुम्टो हटाएर जन्तीलाई हेरिरहेकी छ।
ठिक सूर्यास्तको समयमा मकालु हिमाल लगभग पुरै देखियो- एउटा अजंगको ठाडो पहाड हाम्रो आँखाको ठिक सामुन्नेमा थियो। यतिबेला कस्तो अनुभूति भयो होला, शब्दमा बयान गर्न असम्भव छ। दुनियाँका सबै भाषाका शब्द जोडे पनि त्यो सुन्दरता र त्यो विशालतालाई बयान गर्न सक्दैन, त्यतिबेलाको मेरो अनुभूतिलाई बयान गर्न सक्दैन। मनको भाषा यति बृहत्तर छ कि, शब्दको भाषाले यसको एक भाग पनि समेट्दैन।
यस्तो अवस्था र अनुभूति जनाउने शब्द सायद ‘सबलाइम’ हुनसक्छ, जसले भयङ्करता, विशालता, सुन्दरता र त्रासदी एकैपटक बताउन सक्ने सामर्थ्य राख्छ। तर, यो विलकुल अमूर्त कुरा हो। सबलाइमको अर्थ तपाईंलाई पनि थाहा छ र मलाई पनि थाहा छ। तर, मैले यतिबेला गरेको जुन अनुभूतिलाई सबलाइम भनिरहेको छु, तपाईंले ठिक त्यही अनुभूति बुझ्नुहुन्न। तपाईंले आफ्नै अनुभवका आधारमा यसको अर्थ निर्माण गर्नुहुन्छ।
-final-1747481319.jpg)
पूर्वीय दर्शन र आधुनिक विज्ञान एकै ठाउँमा आइपुगेको तर्क गर्ने अमेरिकी भौतिकशास्त्री फ्रित्जोफ काप्राले आफ्नो किताब ‘ताओ अफ फिजिक्स’मा भाषाको सीमितताको निकै मिठो चर्चा गरेका छन्। आज क्वान्टम विज्ञानले जुन सत्यतालाई उजागर गरिरहेको छ, त्यसलाई ज्यामितीय र तथ्याङ्कीय आयाममा सोच्ने पश्चिमा दिमागले सजिलै बुझ्न सक्दैन भन्ने दाबी उनले गरेका छन्। पूर्वीय अध्यात्मिक दर्शनमा अमूर्त अवधारणाहरू धेरै भएकाले यसरी सोच्ने मानिसले आजको भौतिकशास्त्र सजिलै बुझ्छ भन्ने उनको तर्क रहेछ। पूर्वीय दर्शनमा पनि उनी झेन बौद्ध धर्मबाट एकदमै प्रभावित रहेछन्। (ध्यानबाटै झेन बनेको पहिलोपटक थाहा पाउँदा म चकित परेको थिएँ। झेन एन्ड द आर्ट अफ मोटरसाइकल मेन्टिनेस मेरो प्रिय किताब हो।) सुन्दरता, विशालता वा सबलाइम, यी शब्दको कुनै ठोस अर्थ हुँदैन। अर्थ आफैंले निर्माण गर्ने हो।
गाडीमा कतै हामीले दुर्गेश थापाको ‘हेरेको हेरै’ सुनेका थियौं। निकिनले याद गरेछ, फेरि एकाध पटक सुन्यौं पनि। म बेलाबेला गाइरहेको हुन्थेँ- दुश्मन हेरेको हेर्यै। निकिनले अलिअलि गाउन पनि जानेको थियो।
यता मकालु देखेर हामी हेरेको हेरै।
बिस्तारै मकालु कुहिरोमा हरायो। हामी विशाल हिमनदीको बगरतिर झर्यौं र मकालु हिमालयन होटलमा बास माग्न पुग्यौं।
यहाँ भेट भयो- प्रसिद्ध पर्वतारोही लाक्पा शेर्पासँग। च्याकाेसमा हामीले खाजा खाएको ठाउँमा थुप्रै प्रसिद्ध पर्वतारोहीहरूको हातले कोरिएको चित्र टाँसिएको थियो। त्यसमा लाक्पा शेर्पा पनि थिए तर उनको नाम मकालु लाक्पा लेखिएको थियो।
पर्वातारोहणका लागि विश्वप्रसिद्ध एजेन्सी सेभेन समिटमा आबद्ध शेर्पाले सात पटक मकालु चढेका छन् भने अहिले आठौं आरोहणका लागि यहाँ आइपुगेका थिए। भारतीय सेनाको यो टिमलाई उनैले नेतृत्व गरेर शिखरमा पुर्याउन लागेका थिए।
उनलाई यही हिमालले गिनिज विश्वरेकर्ड पनि दिलाएको छ। भोलिपल्ट बिहान मैले उनको छोटो अन्तर्वार्ता गरेको थिएँ, मकालु आधारशिविरमा भएको भेट याद रहोस् भनेर। यसमा उनी भन्दै थिए, ‘बाहिरको माउन्टेनरहरु थियो, एउटा टिम पुर्यायो आयो, फेरि अर्को टिम लिएर गयो गर्दा १६ दिनमा तीनपटक समिट भएछ। यो वर्ल्डरेकर्ड हो भन्ने पनि पछिमात्रै थाहा भयो।’
लाक्पाले मकालु र तीब्बतको मुज्ताकाता ७-७ पटक आरोहण गरेका रहेछन् भने मनास्लु पाँच पटक। एक पटक सगरमाथासहित अहिलेसम्म ३७ सफल आरोहण गरिसकेका रहेछन्।
-1747481330.jpg)
यहाँका तीनवटै होटलमा उनीहरूले माथि लैजाँदै गरेका सामानहरू थुप्रिएका थिए भने भरियाहरू जम्मा भएका थिए।
बेलुकी साहुनी बहिनीले नाचगान सुरू गरिन्। एकाध शेर्पा गीत, केही तामाङ सेलो र केही चल्तिका नेपाली गानामा साहुनी रमाइलो मानेर नाचिन्। सामान लिएर गएका युवाहरूले पनि उनलाई साथ दिए।
अन्तिमतिर साहुनीले सबैलाई नाच्न आग्रह गर्न थालिन्। एकएक गर्दै सबैलाई नाच्न बोलाउँदै थिइन्। जानेको भए नाच्नु हुन्थ्यो- साह्रै थाकेको छु भनेर टारेँ। रमाइलो माहोलले हिँडाइको थकान मेटिएको अनुभूति भयो।
लाक्पाले बाटोको अनुभव सोधे, साह्रै गाह्रो केही छ कि भनेर सोधे। मैले मेरो गाह्रो बताएँ।
उनले समाधानको उपाय दिए।
हामी निर्धक्क भएर सुत्यौं।
पाँच हजार मिटरको सुताइ त्यति सहज पनि कहाँ हुन्थ्यो र! राति निद्रा परेन। पहिले पहिले निद्रा नलाग्दा दिमाग शैतानको घर हुन्थ्यो। दिमाग सोचको खेलमा दौडिरहन्थ्यो। खासमा दिमागले काम गर्ने तरिका गज्जबको हुन्छ। एउटा कुरामा सोच्यो, सोच्दै गयो अनि बिचमा कुनै एउटा शब्द समात्यो, फेरि त्यसैबारे सोच्न थाल्यो, अर्को शब्द समात्यो, त्यसैबारे सोच्न थाल्यो। विचारको एउटा हाँगाबाट अर्को हाँगामा उफ्रेको छ- उफ्रेको छ। त्यसैले हुनुपर्छ, कतिपय बौद्ध भिक्षुहरू हाम्रो मनलाई ‘मंकि माइन्ड’ भन्छन्। मन खासमा बाँदर नै हो।
जति सोचे पनि मन वर्तमानमा बाँच्न नजान्ने रहेछ। या त विगतका कुरालाई कोट्याइ बस्ने र आफूलाई खुसी वा दु:खी बनाउने, जुन व्यर्थ छ। या त भविष्यको कल्पना गरेर आफूलाई खुसी वा दु:खी बनाउने, उत्तिकै व्यर्थ। बौद्ध दर्शनले मध्यमार्ग सिकाउँछ- वर्तमानमा बाँच।
दु:ख र सुख दुवैबाट मुक्त होउ।
-final-1747481322.jpg)
विपश्यना ध्यानको अभ्यासले केही मात्रामा मनलाई भागदौडबाट रोक्ने सीप विकास भएको छ। मन आफ्नो स्वभाव अनुसार भागदौड गर्छ तर सम्झिँदा सम्झिँदा यसलाई स्थिर गराउने प्रयत्न गरिरहेको हुन्छु। यसले गर्दा निद्रा नलागे पनि मनमा विचारको कोलाहल हुन्न। शान्त र स्थिर रहन्छ।
यसबारे न्युरोसाइन्सले के भन्दो हो कुन्नी? पिंकरको किताब पढिसक्दा केही त थाहा पाइएला।
निद्रा नलाग्नुको फाइदा के भने बिहान उठ्न अल्छी हुँदैन। बिहानै उठेर बाहिर निस्किएँ। सुर्योदयको तयारी भइसकेको थियो। मकालु शिखरमा सूर्यको पहिलो किरण ! म कल्पना गरिरहेको थिएँ तर शिखर बादलको सुरक्षाकबच भित्र थियो। त्यहाँ किरण पर्न सकेन। तर, वरपरका अरू सबै हिमाल एकैपटक झलल बले, सुनका गहनाले सिँगारेझैं भएर।
यो सुन्दरता- न क्यामेराले कैद गर्न सक्छ, न यी शब्दले बयान गर्न।
हिमालतिर पदयात्रा गरिरहन मलाई सबैभन्दा धेरै लोभ्याउने दृश्य यही हो- सूर्योदय र सूर्यास्तको दृश्य।
म बिस्तारै वरूणकुण्ड वा सेतो पोखरीतिर गएँ। निकिन भने हिजो हामीले देखेको ठाउँ गएर मकालु हेर्न चाहन्थ्यो तर म वरूणकुण्ड हुँदै भ्यूप्वाइन्टतिर उक्लिएँ। बेसक्याम्पमै छ भ्यूप्वाइन्ट, त्यसको अगाडि वरूणकुण्ड वा सतो पोखरी। अनि, भीमकाय मकालु।
कुण्डमा मकालुको प्रतिविम्ब देखिन्छ कि भन्ने मेरो आशा थियो, अझै बिहानको घामको किरण परेको मकालुको शिखरको प्रतिविम्ब! म यही कल्पना गर्दै वरूणको शिर तर्दै थिएँ।
ढुंगामाथि थोरै पानी जमेर आइस भएको रहेछ। चिप्लिहाल्यो।
जुत्ता झ्वाम्मै पानीमा पर्यो। एउटा खुट्टा पानीमा पसेपछि अर्को पनि जाकियो।
यतिबेला यहाँको तापक्रम लगभग माइनस छ डिग्री थियो होला।
पानीबाट निस्किएपछि पो थाहा भयो पानी कति चिसो रहेछ भनेर। खुट्टा त ठिहिर्याएकै छ, जुत्ताको माथि लागेको पनि हेर्दाहेर्दै जमेर आइस भयो। जुत्ता र मोजा बरफले अख्रक पर्यो। म यत्तिकै भ्यूप्वाइन्ट उक्लिएँ।
न वरूणकुण्डमा मकालु देखियो, न सुनौलो किरण परेको शिखरको प्रतिविम्ब। तर, यहाँबाट मकालु हिमाल, यसका शाखाहरू, आसपासका हिमाल, वरूणकुण्ड, हाइक्याम्प जाने बाटो, वरूण नदीको किनार, बेसक्याम्प बसेको हिमनदीको बगर र बेसक्याम्प- अत्यन्तै मनमोहक दृश्य देखिरहेको थियो। ठिहिर्याको-भिजेको खुट्टा लिएर पनि म निकैबेर त्यहाँ बसिरहेँ।
बिस्तारै निकिन पनि आइपुग्यो।
-1747481304.jpg)
एकदिन थप यहीँ बस्ने कि! आराम पनि रमाइलो पनि। तीन दिनमा सेदुवा झर्न सकिए निकिनको बैंगलोरको फ्लाइट पनि आरामले भेटिन्छ, राति यस्तो सोच आएको थियो।
तर, मेरो सास तेज नै भइरह्यो। बिहान आठ बजेसम्म पनि। फेरि लाग्यो, दिउँसोदेखि कुहिरो लाग्ने हो। केही देखिँदैन। यहाँ बसेर हेर्ने दृश्य यति नै हो।
सायद निकिनलाई बस्न मन थियो- तर मैले भनेपछि नाई भनेन।
ऊ त ५७ सय मिटरमा रहेको हाइक्याम्पसम्म जाने कि भन्दै थियो। साह्रै धपेडी गरेर चढेकाले होला, यसपटक मलाई आँट आएन।
९ बजेतिर हामी फर्कियौं। फर्किँदासम्म आकाशमा त्यस्तो धेरै बादल थिएन। हिमाल प्रष्ट देखिइरहेको थियो। हाम्रो पिठमा मकालु थियो भने आँखामा चाम्लाङ।
ढसम्मस परेर सुतेको जस्तो लामो फैलिएको शिखर भएको चाम्लाङ हिमाल हेर्दा पनि मनमोहक छ। अझ फोटो जेनिक छ। ७३१९ मिटर अग्लो यो हिमालमा हिउँ मकालुको भन्दा पनि धेरै थियो, सेतो, गजबको। मकालुको पाखो साह्रै भिरालो भएर हुनुपर्छ जिउमा भन्दा दायाँ र बायाँ काँधतिरको भागमा धेरै हिउँ हुने रहेछ। यही उत्तरतिरको काँधबाट नै पर्वतारोहीहरू शिखरतिर जाँदा रहेछन्।
शेरसोङको सुन्दर बाटोमा चाम्लाङलाई आँखामा सजाउँदै हामी यात्राबाट फर्किन थाल्यौं।