काठमाडौं। सुदूरपश्चिमको दार्चुलामा अवस्थित अपी हिमाल (७,१३२ मिटर) क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सोमबारदेखि ‘अपी काव्ययात्रा- २०८२’ आयोजना हुँदैछ। अपिहिमाल गाउँपालिकाको आयोजनामा मुलुकका १२ जना चर्चित कवि, लेखक तथा पत्रकार त्यता जान लागेका हुन्।
यात्राका सहभागीहरूमा प्रभा बराल, कुमारी लामा, अनुपम रोशी, लक्ष्मी रुम्बा, शान्ति तामाङ, अभय श्रेष्ठ, सागर उदास, घनश्याम खड्का, दीपेन्द्रसिंह थापा, घनश्याम पौडेल, राजकुमार गजुरेल र बल्कुराम पुन छन्।
कवि, कथाकार एवम् पत्रकार अभय श्रेष्ठले टोलीको नेतृत्व सम्हाल्दैछन्। एक साता लामो यात्रामा उनीहरू अपी बेस क्याम्प (४,००० मिटर)मा एक रात बास बस्नेछन्। भोलिपल्ट उनीहरूले आफ्ना सिर्जना र अनुभूति सुनाउने छन्। पदयात्राबाट फर्केपछि मिडियामा नियात्रा तथा संस्मरण लेख्नेछन्।
‘हामी लेखकहरूको पर्खाइमा छौं’, गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहाेराले एभरेस्ट पेडियासँग भने, ‘अपी काव्ययात्राले यस क्षेत्रको पर्यटनलाई अझै उचाईमा पुर्याउने हाम्रो विश्वास छ।’
उनकाअनुसार लेखकहरूले विभिन्न मिडियामा प्रकाशन गर्ने लेख, नियात्रा तथा अनुभूतिहरूलाई समेटेर असारभित्रै पुस्तक प्रकाशन गरिनेछ।
स्मरणीय छ, विगत तीन वर्षदेखि गाउँपालिकाले अपी क्षेत्रको पर्यटन विकासमा जोड दिएको छ। उसले ठाउँ–ठाउँमा होमस्टे तथा होटल सञ्चालनको वातावरण बनाएसँगै आन्तरिक पर्यटक बढ्दै गएका हुन्।
‘यो आर्थिक वर्षमा करिब तीन हजार पर्यटकले अपिहिमाल क्षेत्र भ्रमण गरिसके’, गाउँपालिकाका अध्यक्ष बोहोरा भन्छन्, ‘तिनमा सय जना विदेशी हुन्।’ पर्यटक बढ्दै जाँदा जनप्रतिनिधि र गाउँले उत्साहित छन्।
‘अपी हिमाललाई सुदूरपश्चिमको प्रमुख पर्यटकीय केन्द्र बनाउने प्रयासमा छौं’, अध्यक्ष बोहोराले भने, ‘हामी पर्यटकीय पूर्वाधार विकासमा लगानी बढाउँदैछौं।’