काठमाडौं। सुदूरपश्चिमको दार्चुलामा अवस्थित अपी हिमाल (७,१३२ मिटर)को आधारशिविर (४,००० मिटर)मा काव्ययात्रासँगै ध्यान तथा योग शिविर चलाइने भएको छ। अपिहिमाल गाउँपालिकाले ‘योग, ध्यान तथा ऊर्जा महासभा’ र ‘अपी काव्ययात्रा २०८२’ आयोजना गरेको हो।
गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहोराका अनुसार जेठ १६ गते अपी बेस क्याम्पमा ध्यान शिविर चलाइनेछ। शिविरमा ध्यान तथा योग प्रशिक्षक सिमोन न्यौपाने तथा पतन्जली योग समिति दार्चुलाका प्रशिक्षकले प्रशिक्षण दिनेछन्।
त्यही दिन अपी काव्ययात्राका लेखकहरूले आफ्ना कविता र यात्रा अनुभूति सुनाउने छन्। काव्ययात्राका लागि बरिष्ठ लेखक अभय श्रेष्ठको नेतृत्वमा मुलुकका १२ जना चर्चित लेखकहरू सोमबार काठमाडौंबाट धनगढी हुँदै सुदूरको पहाड उकालिएका छन्।

यात्रामा प्रभा बराल (निबन्धकार एवम् उपन्यासकार), कुमारी लामा (समीक्षक एवम् आख्यानकार), लक्ष्मी रुम्बा (कवि एवम् पत्रकार), शान्ति तामाङ (पत्रकार), अनुपम रोशी (कवि एवम् उपन्यासकार), अभय श्रेष्ठ (कवि, कथाकार एवम् पत्रकार), सागर उदास (कवि, गीतकार र मुक्तककार), घनश्याम खड्का (कवि, पत्रकार एवम् उपन्यासकार), दीपेन्द्रसिंह थापा (कवि, निबन्धकार एवम् पत्रकार), घनश्याम पौडेल (पत्रकार एवम् भ्लगर), राजकुमार गजुरेल (पत्रकार एवम् निवन्धकार) र पृथ्वी पुन (पत्रकार, फोटोग्राफर एवम् पर्यटन अभियन्ता) सहभागी छन्।
अपीबाट फर्केपछि उनीहरूले सञ्चार माध्यममा यात्रा संस्मरण र अनुभूतिहरू लेख्नेछन्। तिनलाई समेटेर गाउँपालिकाले पुस्तक प्रकाशन गर्नेछ।
यसैबीच सोमबारबाट गाउँपालिका भवनमा ‘युवा उत्प्रेरणा तथा र क्षमता वृद्धि’ कार्यक्रम सञ्चालन भइरहेको छ। दुईदिने तालिममा मोटिभेसनल स्पिकर सिमोन न्यौपाने र नेपाल सरकारका सहसचिव राजन पौडेलले प्रशिक्षण दिइरहेका छन्। यसबाट जनप्रतिनिधि, कर्मचारी र स्थानीय युवाको क्षमता विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।
काठमाडौंबाट पदयात्रामा निस्कँदा ९ दिन छुट्टयाएमा अपि हिमाल बेस क्याम्प पुगेर फर्कन भ्याइन्छ।
अपीलाई चम्काउँछौं: भक्तसिंह ठेकरे बोहोरा (अध्यक्ष, अपिहिमाल गाउँपालिका, दार्चुला)

विगत तीन वर्षदेखि हामीले अपी हिमालको पर्यटन प्रवद्र्धनमा प्रभावकारी काम गर्दै आएका छौं। यसै सिलसिलामा अपी बेस क्याम्पलाई आध्यात्मिक पर्यटन केन्द्र बनाउन ‘योग, ध्यान तथा ऊर्जा महासभा’ आयोजना गर्न लागेका हौं। त्यस्तै नेपालका चर्चित कवि, लेखक तथा पत्रकारलाई बेस क्याम्पसम्म पुर्याएर उहाँहरूको कलमका माध्यमबाट संसाभर अपीलाई चिनाउन काव्ययात्रा आयोजना गरेका हौं। स्थापित लेखकहरू, योग तथा ध्यान गुरुहरूलाई स्वागत गर्न पाउँदा हामी गौरवान्वित भएका छौं।

