काठमाडौं। ‘नेपालको स्विजरल्यान्ड’ र ‘सगरमाथाको प्रवेशद्वार’ उपमा पाएको दोलखाको रमणीय गन्तव्य जिरीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले युवाले एउटा वृत्तचित्र निर्माण गरेका छन्। स्थानीय ‘ठेम्बा समूह’ले ‘जिरी एडभेन्चर ट्रेक’ नामक वृत्तचित्र बनाएको हो।
लुक्लामा विमानस्थल बनेपछि पर्यटकहरू सोझै लुुक्ला उडेर सगरमाथातिर जान थालेपछि जिरीको पर्यटन सुस्तायो। त्यही सुस्ताएको पर्यटनलाई जगाउन युवाहरूले सकारात्मक प्रयास गरेका हुन्।
डकुमेन्ट्रीकाे प्रिमियर शाे’मा उपस्थित अतिथिहरू।
असार १ गते नेपाल पर्यटन बोर्डमा वृत्तचित्रको प्रिमियर शो आयोजना गरिएको थियो। कार्यक्रममा नेपाल सरकारका पूर्वमन्त्रीदेखि नेता, कलाकार, पर्यटनकर्मी तथा व्यवसायीको उल्लेख्य सहभागिता थियो। वृत्तचित्र युट्युबमा पनि सार्वजनिक भइसकेको छ।
४९ मिनेट ३८ सेकेन्डको वृत्तचित्रमा जिरीका साहसिक पदमार्ग, हिमश्रृंखला, प्रकृतिको सुन्दरता, धार्मिक आस्था एवम् रहस्यमयी किम्बदन्ती र ऐतिहासिकता भेट्न सकिन्छ।
‘हामीले बनाएको डकुमेन्ट्रीमार्फत् जिरीबाट पहिले सगरमाथा जाने बाटोको एउटा वैकल्पिक पदमार्ग बनाउन सकिन्छ कि भनेर लुकेका चिजहरूलाई बाहिर देखाउने काम गरेका छौं।’
डकुमेन्ट्रीमा देखाइएको पदयात्रा जिरीको लिङकन बजारबाट सुरु भएर क्याङ्से पोखरी–चेर्दुुङ–पाथिभरा–बुकिनी–यलेखर्क–कालपोखरी–पाँचपोखरी हुँदै जटापोखरीसम्म पुग्छ । यही पदयात्राको क्रममा देखिने दृश्यदेखि रहस्यसम्म वृत्तचित्रमा समेटिएको छ।
प्रिमियर शाे’मा डकुमेन्ट्री हेर्दै आगन्तुक।
डकुमेन्ट्री अंग्रेजी नयाँ वर्ष २०२५को पूर्वसन्ध्यामा एक साता समय लगाएर खिचिएको हो। यो यात्रामा जोडिएका प्रमुख पात्र हुन्, लालबहादुर जिरेल, हिरा जिरेल र म्युनकुमार जिरेल । साथमा छन्, दीपक जिरेल, अनिल कार्की, हिकमत जिरेल, लोक जिरेल, कुशल जिरेल र भुवन केसी।
निर्माताको रुपमा रहेका हिरा र म्युनकुमार अन्य पेसामा आबद्ध व्यक्ति हुन्। तर, उनीहरू जिरीको पर्यटन प्रर्वद्धनमा जुटे।
‘उचित प्रचारप्रसार नहुँदा जिरीको धार्मिक, पर्यटकीयस्थल, च्योर्दोङ डाँडाबाट देखिने मनोरम दृश्य र त्योपछिको भू–भागलाई मान्छेले बुझेन/चिनेन। यसमा जिरीबासीको पनि कमीकमजोरी होलान्, उचित प्रचारप्रसार गर्न नसक्नु। हामीले पनि नेताले गरेनन् भनेर गुनासो गर्नुभन्दा फरक हिसाबले केही गर्न सकिन्छ भनेर यो डकुमन्ट्री बनाएको हो’, पर्यटन बोर्डको आँगनीमा निर्माता म्युनकुमार जिरेलले भने।
अर्का निर्माता हिरा जिरेल सानो हुँदा जिरीमा रात–दिन पर्यटक हिँडेका र सामान ओसारेका हुन्थे। उनी हुर्किँदै गर्दा त्यो क्रम घट्दै गयो। बालापनको रमाइलो जिरी एकाएक सुनसान हुँदा दुःखी बनेका उनी पर्यटन प्रवर्द्धनमा जोडिए। पेसाले उनी इन्जिनियर।
डकुमेन्ट्रीमा समावेश रुटहरू स्वयम् जिरीका ९० प्रतिशत मानिसले नदेखेकोले प्रचारप्रचारको आवश्यकता रहेको उनको भनाइ छ।
डकुमेन्ट्री निर्माणमा जोडिएका संगीतकर्मी आशिष डंगोलले भिडियोमा देखिएका दृश्यहरुले पर्यटनको सम्भावना उजागर गरेको टिप्पणी गरे।
त्यस्तै पारसमणि जिरेलले भिडियोमा देखिएका दृश्यहरुले मन छोएको प्रतिक्रिया दिए।
यो पदमार्गले पर्यटन विकासमा टेवा पुर्याउँछ: लालबहादुर जिरेल (सगरमाथा आरोही)
सगरमाथा आराेही लालबहादुर जिरेल।
जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर चिनिन्छ। तर, त्यो प्रवेशद्वार थियो एकदिन। सडक बिस्तारले धेरै ठाउँबाट सगरमाथालाई नजिक बनाइदियो। साहसिक यात्री जिरी हुँदै पहिलेको बाटो हिँड्न छोडेपछि जिरी सुनसान भयो।
हामीले बनाएको डकुमेन्ट्रीमार्फत् जिरीबाट पहिले सगरमाथा जाने बाटोको एउटा वैकल्पिक पदमार्ग बनाउन सकिन्छ कि भनेर लुकेका चिजहरूलाई बाहिर देखाउने काम गरेका छौं।
विदेशी होस् वा नेपाली नेपालका धेरैजस्तो लुकेका गन्तव्यमा पुगेका छैनन्। यसलाई प्रचारप्रसार गरियो भने पर्यटन विकासमा थप टेवा पुग्छ।
डकुमेन्ट्रीमा देखाइएका ठाउँहरूमा पुग्न अझै सूचना पार्टी राख्न बाँकी छ। त्यसैले यात्रा गर्न गाह्रो हुन सक्छ। त्यसकारण यात्राको सहजीकरण गर्न हामी तयार छौं। त्यसका लागि ठेम्बा समूहलाई सम्पर्क गर्न सक्नुहुन्छ। तपाईं मलाई मोबाइल नम्बर ९८४१६१८६८४मा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामी तपाईंको सपना पुरा गर्न सघाउँछौं।