काठमाडौँ । अध्यागमन विभागले काठमाडौँ उपत्यकामा रहेका तारे होटलमा बस्ने विदेशी नागरिकलाई असोज १ गतेदेखि डिजिटल ट्रयाकिङ गर्ने निर्णय गरेको छ।
होटल एसोसिएसन नेपालसँगको समन्वयमा पहिलो चरणमा तारे होटलमा विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली लागू गर्न लागिएको विभागका निर्देशक टीकाराम ढकालले जानकारी दिए। उनका अनुसार विभागले आवश्यक म्यानुअल पनि तयार गरेको छ।
विदेशी पर्यटकको सुरक्षा, सूचनामा सहज पहुँच, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्द्धनलाई ध्यानमा राखेर सो प्रणाली विकास गरिएको हो। ढकालले भने, ‘असोज १ गतेदेखि यो प्रणाली काठमाडौँका तारे होटलमा सुरु हुन्छ, त्यसपछि क्रमशः अन्य क्षेत्रमा विस्तार गरिन्छ।”
नयाँ प्रणाली अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका विदेशी नागरिकले होटलमा प्रवेश गर्नु अघि आफ्ना विवरण इन्ट्री गर्नुपर्नेछ। इन्ट्री गरेपछि जेनेरेट हुने क्यूआर कोडमार्फत सेवा प्रदायक संस्थाले विभागको अनलाइन प्रणालीमा विवरण पठाउनेछन्। इन्ट्री नगरेको अवस्थामा भने सम्बन्धित होटलले विवरण भरेर पठाउनुपर्नेछ।
दोस्रो चरणमा देशभरका तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी तथा मनी एक्स्चेन्जमा प्रणाली लागू गर्ने विभागको योजना छ। अन्ततः यसलाई सबै प्रकारका होटल, गेस्ट हाउस तथा सार्वजनिक–निजी संस्थामा विस्तार गरिने तयारी गरिएको छ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार नयाँ प्रणाली लागू भएपछि नेपालमा घुम्न आएर सम्पर्कविहीन हुने विदेशीलाई खोज्न सजिलो हुनेछ।